मकवानपुर । मकवानपुरकाे चेपाङ बाहुल्य रहेकाे गाउँमा खोप अभियान सुररु गरिएकाे छ । शनिवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान राक्सिराङ गाउँपालिका -५ ताङराङबाट सुरु गरेका हुन् ।
मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा बसाेबास गर्ने अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने कम पाइएपछि समुदायमै खोप अभियान संचालान गर्न मन्त्री लामा गाउँमै पुगेका हुन् ।
मन्त्री लामाले १३ जिल्लाका अतिसिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान संचालन गरिएको बताए । उनले खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।त्यसैगरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।
खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए ।
अभियानमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, चेपाङ अगुवा एवं धार्मिक अगुवाहरूको सहभागी रहेका थिए ।