मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फेरि सरेकाे छ । मकवानपुरसहित १६ जिल्लाको अधिवेशन यही माघ १५ गतेका लागि तय गरिएको थियो । यसअघि मकवानपुरसहित १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचनको प्रक्रियामा लाग्नु पर्ने बताउँदै पुस २७ गते हुने भनिएको अधिवेशन माघ १५ गतेका लागि सारिएको थियो । त्यसअघि प्रदेश अधिवेशनको तयारी भन्दै पूर्वनिर्धारित जिल्ला अधिवेशन सारिएको थियो ।
कोभिड–१९ संक्रमण तीव्र भएको भन्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ महामारी सहज भएर जनजीवन सामान्य भएपछि अधिवेशनको मिति तय गरिने जनाएको छ ।
महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी छ । प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा मकवानपुरसहित चितवन, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा अधिवेशन रोकिएको थियो । गण्डकी प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।