मकवानपुर । सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत याे वर्ष पौष शुक्ल पूर्णिमाका दिन आज सुरु भएकाे छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक स्वस्थानी व्रत एवं माघस्नान गरिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । श्री स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।
यी अष्ट मातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्त्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबिचको संवाद छ । स्वस्थानी व्रत कथामा शिव भगवानका ज्येष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनि बिचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि….’
श्री स्वस्थानी कथा आराध्य देव भगवान् शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा शृङ्खलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दु परिवारहरूमा साँझ या बिहान चोखो निधो हुँदै व्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।
प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।
स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भिडभाडमा रोक लागेको छ । यो शाली नदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।
माघ स्नान सुरु
माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको सङ्कल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्छ । स्नानपछि भगवान् विष्णुको पूजा अर्चना गर्नु र सकेसम्म सात्त्विक, अल्पहार र एक छाक मात्र भोजन गरी श्रद्धा र भक्तिपूर्वक व्रत बस्न सकिन्छ । माघ महिनामा दानको विशेष महत्त्व छ । दानमा तिल, गुड, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।
माघ महिनामा पवित्र नदीहरूमा स्नान गर्नाले विशेष ऊर्जाको प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्तिपूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान् नारायणलाई प्राप्त गर्न सकिन्छ भन्ने सनातनप्रति विश्वास राख्नेहरूको छ ।