
हुन त म त्यस्तो बडेमानकाे कुनै साहित्यकार अर्थात समिक्षाकार हाेइन । ” बाउ आमाले खेती गरेछन् यति ” भन्दै आफ्नै सृष्टितिर मात्र दृष्टि दिने मानव जातिको एउटा सजिव आकार हुँ । जब हास्यव्यङ्गयकार गाेविन्द पाैडेल एसिडद्वारा लिखित हास्यव्यङ्गय निवन्ध सङ्ग्रह “गिलासवाद ” सरसर्ति पढेँ। तब मेरो मथिङ्गलमा धेरै कुराहरू गढेका हुँदा उक्त कृतिका सम्बन्धमा केही काेर्न जमर्को गरेको हुँ ।
पिता भाेला प्रसाद पाैडेल र माता रमा पाैडेलकाे संयुक्त लगानीबाट मिति २०३८।५ ।२७ गते कैलाश- ४ मकवानपुरमा पैदा हुनु भएका पाैडेल हाल मनहरी- ७ मा बसाेबास गर्दै आउनु भएको छ। पेशाले श्री राष्ट्रिय राेटरी माध्यमिक विद्यालयमा प्रधानाध्यापककाे जिम्मेवारी सम्हाल्दै आउनु भएका पाैडेल गाउँबेसी सञ्चार मञ्च मनहरी सामुदायिक रेडियोका अध्यक्ष, सिस्नुपानी नेपाल, मकवानपुरकाे सचिव एवं मृगतृष्णा साहित्य डबली, थाहादर्शन साप्ताहिक,साहित्य संगम मकवानपुर लगायत बिभिन्न साहित्यिक संघ सस्थाहरूमा आवद्ध रहनु भएको छ ।
“एसिड” उपनामबाट चर्चित पाैडेलका प्रस्तुत हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहमा- “गिलासवाद, पत्रकार मितज्यूकाे प्रत्यक्ष प्रसारण, एल्बम निकाल्ने धुनमा, सक्कलीदेखि सावधान, वनदेवी माईकी जय, यमलाेकमा सहिद सम्मेलन, सन्चै छ बाँच्या छ, राजनीतिकाे रन्काे,याे अध्यक्षहरूकाे देश, चर्पी: आनन्दालय,गाेर्खालीकाे कपाली तमसुक,कवि चिन्तामणिका कविता,फेसबुक फेहरिस्त, बिमाको झमेला,सेटिङ,भुइँमान्छे र पाैड्याल बाजे कान्तिपुरमा समेत गरी सत्र वटा निबन्धहरू समावेश गरिएका छन् ।
प्रत्येक निबन्धका पाेकालाई फुकाउन रहर लागेको थियोे तर अलि लामो हुने भएको हुँदा थाेरै पाेका मात्र फुकाउने ठहर गरेको हुँ ।हास्यब्यङ्गय लेखनी एक चुनाैतीपूर्ण शैली हाे। सिधा नभै घुमाएर विकृतिमाथि भैली खेल्नु पर्ने हुन्छ । अर्थात समाजमा सदियाैदेखि दराेसंग जराे गाडेकाे विसङ्गति वा कुरूपतालाई खराे पाराले आरा लगाएर रेट्न ब्यङ्गय लेखनीकाे मूल औजारकाे रूपमा रहेको हास्यरसकाे पाइन लगाउन र पाठकहरूकाे मनभित्रैदेखि जगाउन सक्नुपर्ने हुन्छ। यस मामिलामा पाैडलजी अत्यन्त सफल रूपमा देखापर्नु भएको छ ।
समग्र पुस्तककाे प्रतिनिधित्व गरेको “गिलासवाद” निबन्ध मार्फत गिलासवाद संविधान भन्दा माथि छ । राज्यभन्दा महत्त्वपूर्ण छ। ऐन कानुनले वर्जित गरेको विषय पनि गिलासहरू जुधाएर भुस बनाइन्छ । राज्यका जति नै सबल नीतिहरू किन नहुन् एकैरातमा फासफुस बनाइन्छ। समाजवाद, साम्यवाद,पुँजीवाद आदिकाे वादविवाद भन्दा गिलासवाद उच्च स्थानमा रहेकोले यसलाई प्राप्त गरेपछि अरू वाद/विचार/ दर्शन सब फिका लाग्छन् । परलाेककाे गीत गाउने अध्यात्मवाद, प्रत्यक्ष वस्तुसंग प्रीत लगाउने भाैतिकवाद,जीवनलाई जहिल्यै पछाडिबाट हेर्ने विसङ्गतिवाद,मानवजीवनकाे साैन्दर्य खाेज्ने अस्तित्ववाद भन्दा गिलासवाद विल्कुल फरक रहेकाे तर्क प्रस्तुत गर्दै यसको सिद्धान्त दिनमा भन्दा रातमा चम्किने, प्रायःजसो यहीँ वादमा लम्किने भएकोले यदि संसारमा भुवाजस्तै नरम, कुवा जस्तै गुनिलाे, खुवाजस्तै मिठाे,जुवाजस्तै दाउवाला,हिरामाेती झैँ भाउवाला केही छ भने त्यो गिलासवाद हाे ।
चिया गिलासमा छँदा तातो, पिएपछि चिसो । रक्सी गिलासमा छँदा चिसो पिए पछि तातो हुने हुँदा गिलासवादकाे तापक्रम ताेक्न र यसको मूल्य मान्यता यहि हाे भनी दर्शन ठाेक्न सकिदैन भन्दै समाजका हरेक क्षेत्रमा माैलाएका विकृति र राजनीतिमा देखापरेका विभिन्न वादलाई गिलासवादले निर्देश गरेको तथ्यलाई कथ्य बनाएर शिष्ट भाषामा विशिष्ट ब्यङ्गय प्रहार गर्नु भएको छ । त्यसैगरी बजारमा हजार समानहरू छन् । तर, सक्कली एउटा पनि पाइदैन । सबैतिर नक्कलीकाे मात्र बिगबिगी रहेको छ । चाहे गाउँघरका स्थानीय स्राेतसाधन हुन्, चाहे बजारमा उत्पादित र आयातित साधन। सक्कलीपनकाे छायाँसमेत पाउन छाेडिसक्याे। सबैथाेक नक्कलीतिर माेडिसक्याे ।
व्यापारीका पसलमा रहेका ताेरीकाे तेल नक्कली । त्रिपाल ओढेर चुपचाप बसेका रेल नक्कली, बेसार र खुर्सानीकाे धुलाेमा पेलिएका इटाका कण र फर्निचरकाे धुलाे मिसिएका मरमसला नक्कली। तरकारीहरूमा विषादिकाे प्रयोग,खाध्य सामाग्रीहरूमा विभिन्न सामान मिसावट, मूलकाे पानी खाने तिर्खा अहिले पेप्सी र काेकमा परिणत भएका, खल्तीमा मकै भटमास बाेक्ने र गुन्द्रुक ढिँडाे टाेक्ने हाम्रा आनीबानी अचेल चाउचाउ र चाउमिनतर्फ पल्किएका । हाम्रा भाेकतिर्खा, गासवास, हामीले फेर्ने सास,हाम्रा आन्द्राभुँडी, लादी र गिदी मात्र हाेइन, साेचाइ समेत नक्कली रहेको तिताे यथार्थलाई सक्कलीदेखि सावधान! भन्ने निबन्ध मार्फत चाेटिलाे ब्यङ्गय गर्नु भएको छ ।
जे जसरी मृत्यु भए पनि दल र बलकाे नाराजुलुसकाे आधारमा सहिद घाेषणा गर्ने पछिल्ला चरणहरूम माैलाउदै गएको राजनीतिक संस्कारले लखन थापा,भक्ति थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,गंगालाल श्रेष्ठ,दशरथ चन्द जस्ता देश र जनताको लागि बलिदान दिने महान सहिदहरूकाे याेगदान तिरस्कार हुन गएको यथार्थतालाई “यमलाेकमा सहिद सम्मेलन” भन्ने निबन्ध मार्फत यसरी तिखो ब्यङ्गय गर्नु भएको छ:-” दायाँपट्टी एक नम्बर कुर्सीमा बस्ने हाम्रा महान भिरमाैरी सहिद हुन् । उनी गुलियो मह हसुर्ने लाेभमा मह काढ्न जाँदा प्रतिगमनकारी तत्व माैरीहरूले गुरिल्ला शैलीमा आक्रमण गर्दा भिरबाट गुल्टेर सहिद भएका थिए ।यसैगरी दाेस्राे नम्बर कुर्सीमा बस्ने कुखुरे सहिद हुन् ।
कुखुरा चाेरेर भाग्न लाग्दा कुखुरा मालिकले उनलाई परमधाम पुर्याएका थिए । कालाे टाेपी लगाएर तेस्रो नम्बर कुर्सीमा बस्ने गँगटे सहिद हुन् । माछा मार्न खाेलामा गए तर नभेटेपछि गँगटा मार्न व्यस्त भए। त्यसै समयमा एक्कासि खाेलामा अराजक किसिमले बाढी आउँदा उनको प्राण पखेरू उडेको थियो । कालो झाेला बाेकेर मञ्चमा आसिन मित्रचाहिँ सहिद बिजुलीप्रसाद हुन् । उनी बिजुली चाेर्दै गर्दा आफ्नै ज्यानमा करेन्ट सर्ट भई ज्यान गुमाएका थिए । यता राताे फेटा बाँध्ने युवकचाहिँ युद्धमा दुस्मन देखेपछि कट्टुमा पिसाब खुस्काएर भाग्दा अाफ्नै पिसाबमा चिप्लिएर भिरबाट गुल्टिएका थिए । उता झुस्स दाह्री पाल्ने खाटी मित्रचाहिँ छिप्या बाेकाकाे हाड घाटीमा अड्केर अस्पताल लादालादै बाटोमै सहिद भएका थिए । बिचमा ढाका टाेपी लगाएर मुडुल्लाे टाउको छाेपी बस्ने साथीचाहिँ अस्पताल पुगेपछि सहिद भएका थिए । बिचरा डाक्टर साबले अप्रेसन गर्दा पाठेघर झिक्न खाेजेछन् । लाेग्नेमान्छेकाे पाठेघर खाज्दाखाज्दै उनी परमधाम दाैडिएका थिए।
…”यसैगरी राम्रो राजनीतिकर्मी नभए पनि याे मुलुकमा राजनीतिकाे सरगर्मी भने हलक्क बढेको। डाङ्ग्रेकाे अाङमा वायु चढे झैँ राजनीतिक रङ सम्पूर्ण देशवासीकाे शिरमा विराजमान भएको।यहाँ लाेग्ने स्वास्नकाे सिद्धान्त फरक, दल फरक । बाउ र छाेराकाे अादर्श अलग, दल अलग रहेको। मन्तव्य एकातिर अनि गन्तव्य अर्कोतिर रहेको विकृतिपूर्ण राजनीतिलाई ” राजनीतिकाे रन्काे ” नामक निबन्ध मार्फत र देशमा चुनावकाे माहोल छाउँदा नेताकाे अघिपछि झिँगा धपाउनेदेखि सिनाे चपाउनेसम्म, झण्डा उठाउन र नारा घन्काउन मात्र हाेइन परिआए आगाे दन्काउन पनि भुइँमान्छे नभई हुँदैन ।
तर उनीहरूलाई अप्ठ्यारो परेका दिन सधैं एक्लै हुनुपर्ने, अभावले किचेर सधैं रूनु पर्ने गरिबहरूकाे दयनीय अवस्था र नेतागणहरूकाे दैद्धचरित्रप्रति “भुइँमान्छे ” निबन्ध मार्फत ब्यङ्गयकारले दरिलो ब्यङ्गय प्रहार गर्नु भएको छ । समग्रमा ” गिलासवाद ” निबन्ध सङ्ग्रहभित्र समाबेश भएका अधिकांश निबन्धहरू भरपुर ब्यङ्गयले भरिएका, विशेषगरी राजनीतिक र सामाजिक क्षेत्रमा देखिएका विकृति र विसङ्गति माथि प्रहार गरिएका, अत्यन्त चाेटिला, पाेटिला, सग्ला, अग्ला, रसिला र कसिला हुँदा एक चाेटी पढि दिनु हुन सबैमा आग्रह समेत गर्दछु । अन्तत, असल ब्यक्तिकाे परिचय कसैको चाकरी, चाप्लुसीमा अडिनु भन्दा पनि आफूले गरेको सत्कर्मकाे आधारमा ठडिनु पर्दछ । हास्यब्यङ्गकाे फाँटमा चम्किलो रूपमा उदाउनु भएका र सबैकाे मनमा छाउनु भएका पाैडेलजीका सिर्जनाहरू संसारभर फैलिदै र उचाई अग्लिदै जाउन हार्दिक शुभकामना ।
लेखक गाविन्द पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ भदाै ७ गते सोमबार गाईजात्राको अवसर पारेर विमोचन गरिएको हो । सं.