शाेभा शाह थापा
मनको आँगनीमा
खुशीको घाम
लाग्दैन कहिले
आशाको जून
चिहाउँदैंन कहिले
विरहको शीत झरीले रुझेर
कठाङ्गरिएको जर्जर हाँगामा
सपनाका पातहरु
पलाउँदैंन कहिले
निराशाको सिरेटो झेल्दै
हिम बगरबिच
एक्लो
नितान्त एक्लो
ठिङ्ग उभिएको
म जीवन वृक्ष
हर साल
फेरि रहन्छ ऋतुहरु
एक एक गरि
बसन्तको बहार आउँछ
चारैतिर हरियाली छाउँछ
तर,थाहा छैन
मेरो लागि किन अरु ऋतु आउँदैंन
बसन्तमा किन फूल फुल्दैन
सावनमा किन हरियाली छाउँदैंन
चैतको खडेरीमा
किन ममा डढेलो लाग्दैन
मेरो लागि सधैं
डिसेम्बरको दिन
मेरो लागि सधैं नै
डिसेम्बरको रात
हिम बगरबिच
एक्लो
नितान्त एक्लो
ठिङ्ग उभिएको
म उजाड वृक्ष
म एक्लो
उदास वृक्ष ।
हेटाैडा मकवानपुर