घटना नं १ः सिन्धुपाल्चोककी उनी काठमाडौ कपनको फुटपाथमा कपडा व्यापार गर्थिन् । व्यापारको क्रममा हेटौंडाका एक पुरुषसँग चिनजान भयो । चिनजान मायामा परिणत भयो र २ वर्षपछि विवाहमा ।
विवाह गरेको ५ वर्षमा उनीहरुको २ सन्तान भए । ति २ सन्तानको राम्रा शिक्षा र सिङ्गो परिवारको भविष्य सुखद बनाउने सपना सजाउँदै उनी साउदी पुगिन् । तर सपना सजाय जस्तो राम्रो भएन, घरेलु कामदारको लागि गएकी उनलाई श्रम मात्रै हैन मालिकले शारिरीक शोषण पनि गर्न थाले । उनले आफ्नो पीडा श्रीमान्लाई सुनाइन् तर परपुरुषले छोएको भन्दै श्रीमतीको रुपमा श्रीमानले स्वीकारेनन् ।
परिवारको सुदख भविष्यको लागि विदेश गएकी उनी धेरै दुःख र हण्डर खेपेर फर्कदा परिवारकै साथ पाइनन् । सामाजिक संस्थाको सहयोगमा नेपाल फर्केकी उनले श्रीमान्को घर हेटौंडामा प्रवेश नपाएपछि अन्ततःमाइतीघर सिन्धुपाल्चोक नै फर्किइन् ।
घटना न. २ः
मकवानपुरकी अर्की एक महिला अहिले बुटवलमा व्यापार गरेर गुजारा चलाउँदै आएकी छिन् । भारतमा राम्रो रोजगारी दिलाउँने आश्वासनमा आफन्तबाटै बेचिएकी उनी ६ वर्षपछि घर फर्केकी थिइन् । १ वटा बच्चा समेत साथै लिएर आएकी उनको ४ महिनाको गर्भ थियो । यौन शोषणको चरम पीडा खेपेर फर्केकी उनलाई समाज र आफन्तले साहारा हैन, हैरानी दिए । नेपाल फर्केपछि पीडाका दिन सकिएलान् भन्ने सोचेकी उनले अर्को संघर्ष परिवार र आफन्तसँगै गर्न पर्ने भएपछि गर्भपतन गराइन र हाल १ बच्चाको साथमा बुटबलमा व्यवसाय गरेर गुजारा चालउँदै आएकी छिन् ।
घटना नं ३ः
‘के को स्वच्छाले काम गर्न जानु, बेचिएकी रे त, के के भोगेर आई, धन्न परिवारले स्वीकारेका छन् फर्केर आउँदा । उनले आफ्नै कानले आफ्नो बारेमा नराम्रो टिप्पणी सुनिन् । त्यसपछि बेचैन भयो उनको मन । न काम गर्न जोश छ कतै पुराना दौंतरीहरुसँग घुलमिल हुने स्फुर्ति । भन्छिन् ‘घरले त स्वीकार्यो, तर छिमेक, मेरा आफ्ना दौतरीहरु…..।’ बझपन र स्वदेशमा हुँदाको क्षणले अहिले चिथोर्ने र वेचैन बनाउने गरेको बताउँछिन् उनी । ‘सम्हालिने कोशिस गर्दैछु, परिवारले साथ दिएको छ, नातागोताहरु कोहि कुरा काट्छन् कोही चुँ चुँ गर्छन् यस्तै हो ।
‘विदेशमा छउञ्जेल घर फर्कन पाए संघर्षका दिन सकिन्थे जस्तो लाग्थ्यो, यहाँ आएपछि थाहा भो, जीवनमा संघर्ष अनरवत रहेछ’ उनले भनिन् । विस्तारै पीडा भुल्दै र आफूलाई साहस बटुलेर उभ्याउँदै गरेकी उनले आफ्नो नाम मिडियामा नआइदिओस भन्ने इच्छा जाहेर गरिन् । ‘मिडियाले राम्रो होस भनेरै लेख्दा पनि कहिले हाम्रो जीवनमा नराम्रो भैदिन्छ, त्यसैले नाम नलेख्नु ल ।” उनले छुटीने बेलामा यति भनिन् ।
रोजगार मानवको जीवन धान्ने आधार । परिवारको आवश्यकता धान्ने बाटो नै रोजगारी । कुनै पेशा, व्यवसायबीना मानिसलाई जीविकोपार्जनमै समस्या हुने । यस्तै पेशाको खोजीमा भौतारीदै गाँउबाट शहर, शहरबाट राजधानी र राजधानीबाट वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या अनगिन्ती छ । ‘वैदेशिक रोजगार कहाँ सहज छ र ? आफ्नो कोही हुन्न मालिकको निर्देशन, निगाहामा दैनिकी गुजार्नु पर्छ’ कुराकानीको शिलशिलामा वैदेशिक रोजगारबाट फर्केकी अर्की महिलाले भनिन् ‘कति त शारिरीक शोषणा हुने काममा बेचिन्छन् त कोही श्रमिकको रुपमा बेचिन्छ।’

मकवानपुरबाट रोजगारीको शिलशिलामा धेरै युवाहरु विदेशिएकमा छन् । तर यसरी वैदेशिक रोजगारमा गएका मध्ये महिलाहरुलाई बढी समस्या हुने गरेको छ । महिलाहरु विदेशमा पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य हुने गरेको र फर्केपछि पनि समाजमा सजिलै घुलमिल हुन नसक्ने पीडा रहेको आम्कास नेपाल प्रमुख विजया राई श्रेष्ठले बताइन् ।
‘नेपालको प्रत्येक जसो घरले वैदेशिक रोजगारको क्रममा आइपरेको समस्या भोग्नु परेको छ, तर सरकार समस्याको समाधान गर्न बन्द वैदेशिक रोजगारमै प्रतिबन्ध लाउने रणनीति बनाउँन लागि परेको छ, यो समाधानको बाटो विल्कुलै है’ प्रमुख राईले भनिन् ।
विदेशमा समस्या भोगेर आएका महिलाहरुलाई परिवार र समाजका पुर्नस्थापना हुन प्रश्नहरुको ताँती लाग्ने गर्दछन् । ‘घरमा आयो प्रश्नै प्रश्नले अठ्याउँछ’ वैदेशिक रोजगारबाट फर्केकी एक महिलाले भनिन् । बैदेशिक रोजगारबाट विभिन्न समयमा फर्किएका महिलाका लागी समाजमा पुर्नस्थापनामा समस्या हुने गरेको छ । लामो समय बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा रहेर काम गरि फर्किएका महिलालाई समाजले हेर्ने दृष्टि कोण नकारात्मक हुने भएकाले समाजमा स्थापित हुन असहजता हुने गरेको ति महिलाले बताइन् ।
न्यायभन्दा इज्जत प्यारो
बैदेशिक रोजगारको क्रममा गठिएका तथा विभिन्न शोषणमा परेका महिलाहरु ठुलो संघर्षपछि नेपाल फर्केर पनि कानुनी रुपमा क्षतिपुर्ति लिन कानुनी बाटो रोज्दैनन् । कतिपयलाई कानुनी अधिकार बारे थाहै नभएको बताउँछन् । कतिपय चाही आफ्नो विगतबारे समाजमा सबैलाई जानकारी होला र इज्जत जाला भनेर विगत लुकाएर नयाँ विहानी कोर्न चाहन्छन् ।
रोजगारीको क्रममा चरम लैङगिक हिसांमा परेर फर्किएका महिलाहरु धेरैजसो त आफ्नो पुरानो समाज र परिवेशमा फर्कन नै नचाहने गरेको अधिकारकर्मीहरु बताउँछन् । खाडी मुलुकमा कामका लागी जाने गरेका महिला सामान्य लेखपढ गरेका हुने भएकाले घरायसी सहयोगीका रुपमा गई हिंसामा परि नेपाल फर्कने अधिक भएपनि न्यायको लडाईमा उत्रनै नचाहने गरेको ग्रामिण एकीकृत विकास सेवा अध्यक्ष सिता विष्टले बताइन् ।
‘कतिपयलाई समाजमा पुरानै हैसियतमा स्थापित हुन नसकेपछि अन्ततः महिलाहरु कि त पुनः वैदेशिक रोजगर कि त अनेत्र बासाइ सर्ने गरेका छन् । विदेशमा हुनेगरेको मानसिक तनाव बिर्सनका लागि आफ्नै देशमा फर्केर आउँदा उनीहरु गाउँमा आफ्नोपन आभाष गर्न पाइरहेका हुँदैनन् । खाडी मुलुकमा घरेलु कामका लागि जाने गरेका महिला सामान्य लेखपढ गरेका वा अनपढ हुने भएकाले समस्या हुने गरेको विष्टले बताइन् । त्यहाँ रहँदा उनीहरु घरेलु हिंसा भोग्नु परेको बताउँछन् । कतिपय घटना त यौनशोषणसँग सम्बन्धित हुने गरेको छ ।
कमजोर आर्थिक अबस्था, घरेलु हिंसा, श्रीमानको दबाबलगायतका कारणहरुबाट महिलाहरु विदेश जाने गरेको र उनीहरु नै विभिन्न समस्यामा पर्ने गरेको मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकले बताइन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार वैदेशिक रोजगारीको लागि राहदानी बनाउनेहरु मध्ये ४० प्रतिशत सङ्ख्या महिलाको हुने गरेको छ ।
मकवानपुर जिल्लामा दैनिक सरदर १५ देखि २० जनाले राहदानी बनाउने गरेका छन्। पछिल्लो समय घरमा श्रीमान श्रीमतीबचिको पारिवारीक बेमेलका कारण विदेशिनेहरुको संङ्ख्या पनि बढेको छ । कतिपय अवस्थामा त वैदेशिक रोजगारीमा जाने महिलाको अबस्था निकै दयनिय हुने गरेको माइती नेपाल मकवानपुर संयोजक माया लामा बताउँछिन् । वैदेशिक रोजगारीमा जानु अघि भएको संझौता अनुसार काम नपाएपछि फर्कन चाहदा पनि विभिन्न बाधा अड्चन भएको कारण विदेश मै समस्याग्रत दैनिकी गुजारेर बस्ने गरेको लामाले बताइन् ।
वैदेशिक रोजगारीको क्रममा समस्या नहोस भनेर दैनिक १५ देखि २० जनालाई परामर्श दिने गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुर आप्रवासन स्रोत केन्द्रको सूचना तथा परामर्शकर्ता पार्वती बिकले बताइन् ।

घरेलु काममा जानेहरुलाई बढी समस्या हुने गरेको फिल्ड भिजिटमा भेटिएको उनले बताइन् । घरेलु काममा गएका अनपढ महिलाहरुलाई आफ्नो अनुमति पत्रको म्याद गुज्रेको थाहा नहुने, बीमा बारे जानकारी नहुने, आफू बसेको ठेगाना समेत भन्न नसक्नेहरुलाई बढी समस्या हुने गरेको उनले बताइन् ।
वैदेशिक रोजगारको लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा आउनेहरुलाई सूचना तथा परामर्श गर्ने, इजाजत प्राप्त मेन पावरबारे, श्रम स्वीकृति लिनेबारे,तालिम तथा सिप, पैसा बुझाउँदा ध्यान दिनु पर्ने कुराहरु, प्रमाण राखेर मात्रै कारोवार गर्नेलगायतको बारेमा परामर्श गर्ने गरेको बिकले बताइन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी , र बकैया गाउँपालिकाको नेतृत्वमा एकीकृत ग्रामिण विकास सेवाको सहजिकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले समस्यामा परेकाहरुको न्यायको लागि सहजिकरण गर्दै आएको छ । परियोजना संयोजक अन्जिता थापा मगरका अनुसार संस्थामा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै ३२ वटा केसहरु दर्ता भएका छन् । विदेश जाने सोच बनाएर पासपोर्ट बनाउनेदेखि रोजगारमा लागेपछिसम फलोअप गर्दै आएको थापा मगरले बताइन् । यो वर्ष मात्रै ठगिमा आएको १ लाख फिर्ता गर्न सफल भएको उनले बताइन् । यो परियोजना ३९ वटा जिल्लामा छ । अन्य जिल्लाको भएपनि आएको केस हेर्ने गरेको र यस्ता समस्यामा पुरुषको बढी देखिएको विष्टले बताइन् ।
अन्ततः समस्यामा महिलाहरु नै
वैदेशिक रोजगारको शिलशिलमा महिलाहरुले प्रत्यक्ष पीडा भोगेका छन् । परिवारबाट श्रीमान वा छोराहरु वैदेशिक रोजगारको क्रममा समस्या पर्दा पनि त्यसको मारमा महिला नै पर्ने गरेका छन् ।
‘समस्यामा पुरुष देखिए पनि त्यसको प्रत्यक्ष मारमा महिला छन् । कोरोना महामारीको बेला मकवानपुर जिल्ला बकैया गाउँपालिकाका तुलबहादुर बिकको कोरोनाको कारण साउदीमा मृत्यु भयो । छोरो साउदीमा बित्यो परिवारको भार बृद्ध आमा मनमायालाई प¥यो । कानुनतः कार्य अवधि सकिएको कारण परिवारले कारण क्षतिपुर्ति पाएनन् । घरको गुजारा चलाउने छोरा नै नरहेपछि आमा समस्यामा परिन् । धेरै जसो परिवारले म्याद गुज्रेको कारण बीमा, क्षतिपुर्तिलगायतको रकम पाउनमा समस्या हुने गरेको विष्टको अनुभव छ ।
यता मकवानपुर जिल्ला मनहरीकी चेपाङ किशोरीको पीडा दर्दनाक छ । १८ वर्षीय किशोरीको काखमा ५ महिनाको शिशु, विदेशमा श्रीमानको ज्यान गयो । सुरुमा विवाह दर्ता तथा बच्चाको जन्मदर्ता नभएको कारण क्षतिपुर्ति रकम दावि गर्ने समस्या भयो । सामाजिक संस्थाहरुको सहजिकरणमा क्षतिपुर्ति रकम पाएपछि उनलाई घरैमा असुरक्षा भयो ।
श्रीमानको मृत्युपछि प्राप्त क्षतिपुर्ति रकम पनि परिवारले नदिएपछि पारिवारीक विवाद सुरु भयो । श्रीमान्को मृत्युपछि पाएको पैसाको कारण परिवारभित्र कलह हुँदा आफ्नो ज्यान नै जोखिममा राखेर लागिपरिन् । ‘क्षतिपुर्ति बीमालगायतको गरी २१ लाख पैसा आयो, त्यै पैसाको लागि परिवारले नै ज्यान लिने हो कि भन्ने डरैडरमा छु’ उनले भनिन् ‘बाहीर यही कुरा भन्दा झनै डरलाग्ने त्यसैले कतै भन्न सकेकी छैन ।’
सामाजिकिकरण हुनै समस्या
राम्रो भएर फर्केकाहरुलाई सबैले वा–वा भन्छन्, उसैको पछि लागेर विदेशिन अरुले पनि चाह प्रकट गर्ने गर्दछन् तर जो दुख पाएर फर्केको हुन्छ, जसलाई साथीभाई, परिवार तथा समाजको साथ आवश्यक हुन्छ उसलाई कसैले साथ दिन हत्तपत्त तयार नहुने गरेको पाइन्छ ।
ग्रामिण एकीकृत विकास सेवा (आइभीडीएस) ले साउन र भदौ महिनामा ३२ वटा केसमा सहजिकरण गरेको बिष्टले बताइन् । अघिल्लो आर्थिक वर्षमा ८९ वटा केस दर्ता भएका थिए । जसमा ५५ वटा केस टुङ्गीएको छ । ५५ वटा केसको फाइनल गर्दा ७९ लाख रकम क्षतिपुर्ति सम्बन्धित व्यक्तिलाई बुझाउन सकिएको अध्यक्ष विष्टले बताइन् ।
२० बर्ष पहिले र अहिले अवस्था उस्तै छ, घरेलु काममा जान प्रतिबन्ध लगाउनु नै समाधान हैन, मुख्य समस्य खोज्न तिर लाग्नुभन्दा प्रतिबन्ध लगाउनुमा सरकार लाग्नु राम्रो हैन’ राईले भनिन् ‘बाध्यात्मक रुपमा वैदेशिक रोजगारको लागि जानेहरुलाई फसाउने दलालहरूलाई झनै सहज भएको उनले बताइन् । भारतसँगको खुला सिमानाको कारण नेपालबाट अबैध कामदार लैजान समस्या भएको उनले बताइन् ।
‘गैरकानुनी रुपमा गएका कामदारलाई समस्या परेमा उजुरी समेत नलाग्ने भनेर रोजगारदाताले पनि झन् पेल्छन’ उनले भनिन् ‘सरकारले वैदेशिक रोजगार सम्बन्धी ऐन नियम राम्रो बनाए पनि कार्यान्वयन पक्ष फितलो भयो ।’ नेपालमा संघ व्यवस्था सुरु भएसँगै अव वैदेशिक रोजगार बारेका सबै समस्यामा स्थानीय सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । बिदेश जान चाहने नेपालीलाई आफ्नो स्थानीय तहमै तालिम लिने, दक्ष बन्ने र कानुनी प्रकृया सबै पुरा गर्ने वातावरण स्थानीय सरकारले नै तय गर्नुपर्छ । फर्केका आएकाहरुको सिपलाई सदुपयोग गर्ने र उनीहरुको सम्मानजनका पुर्नस्थापनाको लागि स्थानीय सरकारले भुमिका निर्वाह गर्नुपर्छ । साथै समस्या परेकाहरुलाई सहज न्यायको पहुँच बढाउन पर्ने राइको धारण छ ।
आम्कास नेपालले कोरोना महामासरीको समयमा झण्डै ८ सय महिलालाई सेल्टर प्रदान गरेको उनले बताइन् । महामारीको कारण फर्केकाहरुलाई परिवारलाई मिलाउने, आय मुलक काममा लगाउने गर्दै आएका उनले बताइन् ।
जो फर्केर उदाहरणीय बने

मेरो नाम लिला रुम्बा, ४७ वर्षको भए । निम्न वर्गिाय आर्थिक हैसियतको हाम्रो परिवार । विदेश गएर केही कमाइ गर्ने घर सल्लाह अनुसार विदेश जाने तयारी गरियो । सुरुमा तुर्केमिनिस्तान जान तयारी गरेर घरबाट निस्केको थिएँ । सिन्धुपाल्चोकको एक जना दाईले मलाई तुर्केमिनिस्तान पु-याउने भनेर ४० हजार लिएका थिए । यो कुरा ८ वर्ष अगाडी हो ।
उसँगै लागेर भारतको बाटो हुँदै वैदेशिक रोजगारको लागि पाइला अगाडि बढाएको थिए । उसले भारतमा लगेर ४ दिन राख्यो । त्यहाँ धेरै दुख पाइयो । तुर्केमिनिस्तान पु¥याउँछु भन्ने मान्छे बेपत्ता भयो । मसँग अरु महिलासाथीहरु पनि हुनुहुन्थ्यो । हामीसँग घर फर्कनुको विकल्प थिए । त्यहाँ रहदा मकवानपुरको अर्को युवाले केटीहरुलाई नेपालबाट भारत पु-याउँदै फर्कदै गरेको थाहा पाइयो । उसँग चिनजान पनि यो, उसले कुवेत जाने भने सहयोग गर्छु भन्यो ।
ऋण काटेर गएका थियौ घर फर्कनुभन्दा कुवेतमा जानु उचित भनेर हामी उता लाग्यौ । बेचिने हो कि भनेर औधि डर चाँही लागेको थियो । मेरो बहिनी पहिले नै कुवेतमा कार्यरत थिइन्, त्यसैले पनि कुवेत जाने भनेपछि अलि साहस आयो । कुवेत जाने क्रममा पनि श्रीलंका लगेर ९ दिन राख्यो । भिसा आएको छैन, भन्दै अल्झाउँदै राख्यो । आफू न अंग्रेजी बुझ्थे न हिन्दी । बल्ल कुवेत पुगियो तर काम पाउन गाह्रो । बस्ने खानेको टुड्डो हुदैनथ्यो । काम गर्नको लागि पनि छानेर लैजाने रहेछन् । साथीहरुले ४/५ दिनमा काम पाए, मैले ९ दिनपछि काम पाए ।
जब काम पाए, घरको काम सजिलै थियो । साथीहरुभाइसँगको भेटमा धेरै दुखदायि कुराहरु सुनिन्थ्यो । कतिपयलाई बलात्कार हुने गरेको कुरा पनि सुनिन्थ्यो, मलाई भने समस्या थिएन। तर बसिरहन मन लागेन २ वर्षमा नेपाल फर्के । मलाई तुर्केमिनिस्तान लगिदिने भनेर ४० हजार पैसा ठगी गर्ने मान्छे अझै बेपत्ता छ । मैले नेपाल फर्केर पनि उसको खोजि गर्न सकिन, खोजि गर्ने आधार नाम थार ठेगाना सम्पर्क नम्बर केही छैन । मेरो पनि पढाइ छैन, ५/६ महिना पौढ पढेको हुँ ।
फर्केपछि आफ्नो गाउँठाउँ (मकवानपुर जिल्ला बकैया गाउँपालिका) मा स्थानीय बाहिनीहरुलाई, भाईहरुलाई बैदेशिक रोजगारको बारेमा चेतना दिने काममा सक्रिय छु । मैले ४ वर्षदेखि आफ्नो ठाउँमा रहेर जाने बुझेको कुराहरु अरुलाई सिकाउँदै आएको छु । ग्रामिण एकीकृत विकास सेवामा आवद्ध भएर वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउने, ठगिबाट बच्न के गर्ने भन्नेबारे तालिम लिएपछि अरुलाई बुझाउन सझै सहज भएको छ । वैदेशिक रोजगारको क्रममा दुख पाएर फर्केका चेलिबेटीहरुलाई न्याय र क्षतिपुर्तिको लागि सहजिकरण गर्दै आएको छु । हालसम्म २ सयभन्दा बढीलाई मैले सहजिकरण गरिसकें ।

मेरो अनुभवमा विदेशमा दुख पाएर फर्केका महिलाहरु धेरैजसो चाँही आफ्नो लागि न्यायको खोजि नै गर्दैनन्, विगतमा जे भयो, भयो अब घरमा आइहाले भनेर बस्नुहुन्छ । शारिरीक शोषणमा परेर फर्केकाहरुले झनै आफ्नो इज्जत दाउमा राखेर न्यायका लागि लड्नुको औचित्य नै देख्नुहुन्न । विदेशमा दुख पाउन सकिने संभावनालाई ध्यान दिंदै पहिले नै कानुनी प्रकृया पुरा गरेर जान, पैसाहरु दिंदा पनि कागज गरेर राख्न, फोटोहरु खिचेर राख्न, प्रमाणहरु प्रयाप्त बनाएर मात्रै पाइला अगाडि बढाउँन सुझाव दिने गरेको छु ।
सकेसम्म विदेश नजाने, जानै परे सिप सिकेर, तालिम लिएर कानुनी बाटोबाट मात्रै वैदेशिक रोजगारीको लागि अघिबढ्न सबैलाई मेरो सुझाव छ । दुख पारएर फर्केनु पर्दा विशेषगरी महिलालाई घरसमाजका पुर्नस्थापित हुनै समस्या छ । आफूमाथिको मनोसामाजिक पीडाहरु एकातिर छन् अर्को तिर समाजको तिरस्कार हुँदा कसरी बाँच्नु हिम्मत उठाउनै कठिन छ । सामाजिक सोच अझै पनि महिलामैत्री छैन ।