मकवानपुर । नेकपा (एमाले) काे आज शनिबार देशैभर वडास्तरकाे अधिवेशन हुँदैछ । पार्टीकाे आसन्न दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन हुने भएकाे हाे । यसैगरी कात्तिक ९ गते पालिकास्तरकाे अधिवेशन हुने छ । यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन नहुने पार्टीले जनाएकाे छ ।
वडा अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बाेधन गर्ने भएका छन् । ओलीकाे सम्बाेधनलाई इन्टरनेट पहुँच भएका वडाहरुमा अधिवेशनकाे समयमा त्यसलाई ‘डिस्प्ले’ गरिने छ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुने यस अघी नै तय भएकाे छ । शुक्रबार बसेकाे एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियाे ।
राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक कात्तिक ११ गतेकाे लागि बाेलाईएकाे छ भने केन्द्रीय कमिटी बैठक कात्तिक १२ गाे बस्ने निर्णय एमालेले गरेको छ ।