मकवानपुर/बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार पुनः एक साता लम्ब्याइएको छ । गठबन्धनको तर्फबाट नेकपा समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने लगाभग पक्का भएको छ । यद्यपि संसदीय प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्ने भएकोले १० कात्तिकमा बस्ने प्रदेश सभाको बैठकमा शक्यले विश्वासको मत लिने भएकी छन् ।
विहीबार बसेको प्रदेश सभाको बैठक आगामी १० कात्तिकमा बस्ने स्थगित गरिएको र सोही बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी बाँकी सम्पूर्ण प्रक्रिया पुरा गरिने प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए । विहीबार १ बजेको लागि तोकिएको बैठक गठबन्धनको बैठक नसकिएको कारण दिउँसो साँढे ३ बजे सुरु भएको थियो । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले करिब साँढे ३ बर्षको कार्यकालमा गरेको कामको समिक्षा सुनाएकी थिइन् । एमालेको नेतृत्वमा जनहितकालागि प्रभावकारी काम भएकोले आफू नेतृत्वको सरकारलाई विश्वासको मत प्रदान गर्न आव्हान गरेकी थिइन् ।
प्रदेशमा ६ सय ४० पक्की सडकको बहुबर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लाहरुमा खानेपानीको पहुँच विस्तार गरिएको, राजधानीमा अवस्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने गरी काम भइरहेको, कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई मल, बीउबीजन उपलब्ध गराउने कार्य गरिएको, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल संचालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारको लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको सफल कार्यहरु सुनाउँदै मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेकी थिइन् ।
२ भदौमा एमालेको एकल बहुमतबाट शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले विभाजन भएर १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी हुन्। बागमती प्रदेश सभामा कुल ११० सदस्यमध्ये हाल १०९ सांसद छन्। जसमा एमालेका ४३, नेपाली कांग्रेसका २२, माओवादी केन्द्रका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र स्वतन्त्र सांसद एक जना छन् ।