मकवानपुर/बागमती प्रदेशमा गठबन्धनको तर्फबाट नेकपा समाजवादी र नेपाली काँग्रेसले आधा आधा समय नेतृत्व गर्ने समहती भएको छ ।
आज विहीबार १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक गठबन्धनको बैठक लम्बिएको कारण ३ बजे मात्रै सुरु भएको छ । गठबन्धनको बैठकले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएको छ ।
गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।
सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्यको सरकार अहिले अल्पमतमा छ ।आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि छ । बैठक अहिले जारी छ ।
एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् । प्रमुख सचिव खड्काका अनुसार, बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेश सभामा कुल ११० सदस्यमध्ये हाल १०९ सांसद छन्। जसमा एमालेका ४३, नेपाली कांग्रेसका २२, माओवादी केन्द्रका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र स्वतन्त्र सांसद एक जना छन्।