मकवानपुर । अबकाे केही दिन पछी प्रदेश राजनीतिमा केही परिवर्तन हुने संकेत देखिएको छ । बागमती प्रदेश, प्रदेश १ र कर्णाली प्रदेशका मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो । केन्द्रमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र, नेकपा ऐकिकृत समाजवादी, जसपा र जनमोर्चा गरी पाँच दल सरकार सहभागी छ ।
गठबन्धन नै बनाएर सत्ता सञ्चालन गरिरहेका उनीहरूले प्रदेश सरकार परिवर्तनका विषयमा समेत भद्र सहमति गरेका छन् । मन्त्रिपरिषद् विस्तारकाे समयमा बागतमी र प्रदेश १ को मुख्यमन्त्री नेकपा एकिकृत समाजवादीलाई दिने भद्र सहमति पछी केन्द्रीय सरकारमा नेकपा एसकाे प्रतिनिधित्व खुम्चिएकाे छ । नेकपा एसबाट ६ जना मन्त्री हुने पक्कापक्की भएकाेमा प्रदेश मुख्यमन्त्री २ जना बनाउने सहमति पछि उसले केन्द्रीय सरकारमा ४ जना मन्त्रीलाई पठाएकाे हाे ।
दशैं सकिए लगतै बागमती, प्रदेश १ र कर्णाली प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने लगभग निश्चत जस्तै भएकाे हाे । एकिकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा आफ्नो दाबी पेश गर्दै आएकोमा साेही अनुसार सहमति भएकाे हाे । दशैं लगत्तै बागमती प्रदेश र प्रदेश १ मा समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेश गरेकी छिन् । प्रस्ताव पेश गरेसँगै दशैंका लागि संसद् अधिवेशन कार्तिक ४ गते सम्म स्थगित भएको थियो । साेही दिन मुख्यमन्त्री शाक्यको भाग्य निर्धारण हुनेछ ।
केन्द्रीय राजनीतिमा भएकाे भद्र सहमति अनुसार शाक्यले विश्वासको मत नपाएको खण्डमा समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् । प्रदेशकाे समीकरण हेर्दा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिन सहज छैन । १ सय ९ सांसद रहेको प्रदेशसभामा शाक्यलाई आफ्नो पद जोगाउन ५५ सांसद चाहिन्छ । तर, उनको दल एमालेसँग ४३ सांसद मात्र छन् ।
एमाले बाहेकको गठबन्धनमा आवद्ध दलसँग ५८ मत रहेको छ । तर, प्रदेश सभामा २२ सिट रहेको कांग्रेसले बागमतीमा आफ्नो नेतृत्वमा सरकार बनाउन चाहेकाे ले कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने अनिश्चित जस्तै रहेकाे छ । प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ कस्सीएर आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा छन् । बानियाँ पनि पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको निर्णय अनुसार नै अगाडी बढ्ने मनस्थितिमा रहेकाे देखिन्छन् ।
त्यस्तै प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले दशैंपछि विश्वासको मत लिदैंछन् । दशैंपछि विश्वासको मत लिन लागेका मुख्यमन्त्री आचार्यको पद पनि धरापमै छ । प्रदेश १ नेकपा एसकै राजेन्द्र राई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दाबेदार हुन् । गठबन्धनले सहयोग गरेको खण्डमा राई मुख्यमन्त्री हुनेछन् ।
दशैंपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने विषयले चर्चा पनि चर्चा पाइरहेको छ । नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले बैशाख ३ गते विश्वासको मत लिँदा ६ महिनापछि पदबाट राजीनामा दिने र नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । त्यही सहमतिअनुसार नै मुख्यमन्त्री परिवर्तनको चर्चा चलेको हो ।
तर मुख्यमन्त्री को हुने केन्द्रको राजनीतिमा भर पर्ने छ । राजनीतिक उथलपुथल नभए कार्तिकको पहिलाे साता वा प्रक्रिया पुरा गर्दा कार्तिक १० गतेसम्म कर्णालीकाे मुख्यमन्त्रीकाे टुंगाे लाग्ने छ । यस विषयकाे टुंगाे नेपाली काँग्रेसकाे निर्णयमा भर पर्ने देखिन्छ भने मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका नेता शाहीबीच भएको सहमति अनुसार दशैंपछि सरकार परिवर्तन हुनसक्छ । तर, त्यसका लागि केन्द्रको राजनीतिले कस्तो निर्णय गर्न सक्छ त्यसमा भर पर्छ ।