मेरी आमालाई ताते हिड्न सिकाउने,
यी पखेराहरू र भीर पाखासंग अभ्यस्त बनाउने,
यी लहरा-बेराहरू, खहरे-खोल्साहरू,
आमाको प्राणको लागि प्राणरस भर्ने आमाहरू,
कर्तव्य पथमा अडिग बन्न प्रेरित गर्ने बुवाहरू,
आमालाई जीवन कलामा रङ्ग भर्न सिकाउने,
मेरो आदरणीय मामाहरूका साथमा
साराका सारा जीवन दिने,
यो माटो, यो हावा-पानी, यो सिङ्गो धरामा,
पहिलो पटक पाइलो टेक्दैगर्दा,
मेरोमन ढक्क फूलेर आयो,
खुसीले भक्कानिएँ, अवरुद्ध बने गला,
रसिला बने नयन, बोल्न सकिन,
मनले सोधे: “आमा ५० बर्षपछी फर्केर हेर्दा यो भूमी कस्तो लाग्यो ?”
उबेला आमा बाध्यताले चढ्नुहुन्थ्यो भीर,
घाँसको भारी बोकेर,
दाउरा भारी बोकेर,
पानीको जोर गाग्रो बोकेर,
मेला पर्म गर्नुहुन्थ्यो,
ऐंचोपैचो गर्नुहुन्थ्यो यही माटोमा,
यही बाटोमा बालबधु मेरी आमाले
गर्नुभयो घर-माइती,
आहा !
पाखैभरी फूलेका छ ढकमक्क कटुसका फूलहरू,
बगैंचै भरी हाँसीरहेका छन् सयपत्रीहरू,
स्वागत गरीरहेका छन् तिहारलाई,
अर्थात मेरी आमालाई,
कलकल झरीरहेका छन् खहरे खोल्साहरू,
मीठो झोका दिईरहेको छ पवनले,
यो प्रिय भूमी, स्वर्गको एउटा टुक्रा,
जहाँ देवत्वको रूप लिएर बसेका छन्:
मेरो मामा-माइजूहरू,ठुलोबुवा-ठुलीमाहरू,
दिदिबहिनीहरू,दाजु-भाउजुहरू,
भाइ-बुहारीहरू, भिनाजु र ज्वाईहरू,
अनि अबोध चन्चले नानिबाबुहरू ।
विकासको श्वाद चाख्दै गरेको,
हराभरा उछ्याईलो धरती,
प्रकृतिको रमणीय छटाले भरिपुर्ण,
यो पुण्यभूमी, यी मनकारी मनहरूलाई
हृदय बिछ्याएर नमन:
मेरी आमाको प्याण,मेरो जननी प्रिय छवेली,
निस्कपट मनकारी छवेली गाउँवासीहरू ।
छवेली
कविता
