टिङ्कु भट्टराई
यसपाली त परदेशीले आउने भन्नु भा छ
सँगै बसी रातोटीका लाउने भन्नु भा छ
उत्साह र उमंगले मनै अति फुरुङ्ग भो
यता भ्याई उता पनि धाउने भन्नु भा छ ।
लक्ष्मीपुर इलाम
दिपेन्द्र अधिकारी
दसैंआयो पिङ्गखेल्न मन उडेर पुग्यो गाउघरमा
ठिङ्गै शरीर मात्रै रोकियो हजुर टोक्यो शहरमा
कहरहरू पनि हुन्छन् जिवनमा चाहमात्रैले भएन
तालमेल मिल्दैन जान प्रदेशिको आफ्नै रहरमा ।
पाेखरा हाल जापान
निरू गाैतम
१.
बडादसैँ पनि खल्लो हुने भयो
मन सुस्ताइरहने सल्लो हुने भयो
भगवानलाई पनि ईर्ष्या लागेछ कि !
खुशी जमेर हिउँको डल्लो हुने भयो ।
२.
याद आउँदा घरको मुटुमा भक्कानो फुट्दछ
सपना नराम्रो देखी रातमा नै निन्द्रा टुट्दछ
चाडबाडमा पनि पसिना बगाउँदै छ पर्देशी,
परिवार सम्झी अनायासै हिक्का छुट्दछ ।
मोरङ
सूर्य गिरी
मन मस्तिष्कमा खुसी छाउन पाए पाे दशैँ
मालसीरी धुनसँगै गीत गाउन पाए पाे दशैँ
मान्यजनहरुबाट शुभआर्शिवाद ग्रहण गर्दै,
निधारमा टिका जमरा लाउन पाए पाे दशैँ ।
माछापुच्छ्रे ५,कास्की
गंगा खड्का
सबैका मुहारमा जून लागोस् यसपटकको दसैँले
अभाव, पीडा र छटपटीले बाँच्न नपरोस् है कसैले
सत्यको सदा जित होओस् सर्वत्र असत्यको पराजय
हर्षको उल्लास छाई मन भरियोस् अलौकिक रसैले ।
बुढानिलकण्ठ काठमाडाैं
प्रीति आत्रेय ज्ञवाली
सबै भन्छन् दशैँ आयो खाउँला लाउँला घुमौँला
परिवार आफन्त मिलीजुली रमाइलो नै गरौँला
जुरेकाले भेटून् रमाइलो गरून् प्रीतिको शुभकामना
परिस्थितिले टाढिएकाले फोनबाटै आशिष थापौँला।
बुटवल हाल न्होम पेन्ह, कम्बोडिया