मकवानपुर । साफ च्याम्पियनसिपको इतिहासमै नेपाल पहिलाे पटक फाइनलमा प्रवेश गरेकाे छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग बराबरी खेल्दै फाइनल यात्रा तय गरेकाे हाे ।
माले रंगशालामा नेपाल र बंषलादेश बीच भएकाे खेलको शुरूवाती चरण मै बंगलादेशले १ गोल गरेकाे थियाे । खेलको नवौँ मिनेटमा नै बंगलादेशका सुमोन रेजाको गोलमा नेपाल पछि परेको थियो । अतिरिक्त समय सहित करिब ९६ मिनेटको खेलमा फाईनलमा पुग्ने नेपालीको सपना खेलको अन्तिम समयमा आएर मात्रै पूरा भएकाे हाे ।
बंगलादेश सङ्ग निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा नेपालले पेनाल्टी मार्फत गोल गरेर खेल बराबरीमा राेकिए पछी नेपालले फाइनल यात्रा तय गरेकाे हाे । नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरीमा परिणत भएकाे थियाे । असाेज २७ गते साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो । त्यसपछि कुनै गोल हुन नसकेपछि नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो ।
साफ च्याम्पियनसिपकाे ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ । माल्दिभ्सको ६ तथा भारतको ५ अंक रहेको छ । माल्दिभ्सले बराबरी मात्र खेले फाइनलमा पुग्नेछ भने भारतले भने खेल जित्नै पर्ने दबाब छ । बंगलादेश ५ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएको छ । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।
यस अघि नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका थिए । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको थियो । दुई खेल बराबरी भएको थियो । साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका थिए ।