मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् । विजय दशमीको अवसरमा देशभित्र र देशबाहिर रहे बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको शुभकामना दिदैं उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका हुन् ।
‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याइए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैनन भन्ने बोध हामीले गरेका छौँ’, उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । यस्तै उनले परराष्ट्र नीति असन्तुलित हुँदा राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका छन् ।

‘हाम्रो समाज सनातनिक आदर्श र पूख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन् । लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर राजनीतिक व्यवस्था आफु, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ । कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, वेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’पूर्व राजा ज्ञानेन्द्र शाहले प्रश्न गरेका छन् ।
‘भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु’
यसैबीच जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशमा व्यक्त विचारप्रति अक्रोश व्यक्त गरेका छन्। मंगलवार पूर्व राजा ज्ञानेन्द्रले दशैंको अवसरमा शुभकामना सन्देश दिदैं राजतन्त्र बिनाको प्रजातन्त्र सान्दार्भिक नहुने उल्लेख गरेका थिए।
भट्टराईले ट्वीटरमा पूर्वराजाको सन्देशसहितको भिडियो साझा गर्दै भ्रमको खेती भएको र देशलाई पुन:द्वन्द्वमा धकेल्ने उद्देश्यको भएको बताएका छन्। उनले पूर्व राजालाई जनताप्रति अलिकति जिम्मेवारीवोध भए चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने सुझाव समेत दिएका छन्।

‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुनस्द्वन्दमा धकेल्नु मात्रै हो,’ भट्टराईले भने, ‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ!’