गीताश्री शर्मा
हो ! म चुपचाप छु
तर चुप बसें भन्दैमा
मलाई कमजोर नसोच!
मलाई थाहा छ ,
निःशब्द छु , आजकल
तर लाटी छु भनेर
मलाइ घरी घरी नघोच ।
दर्पणले मलाई जस्तै देखाए पनि
तिमीले भने जस्ती नभए पनि
तिमीले सोचे जस्तो मन पनि नहोला मेरो
तर ,
मेरो मनको सुन्दरता देखेर
तिमीलाई जलन भएमा
दर्पण फुटाइ दिए पनि हुन्छ !
तिम्रो आक्रोशले अनि विद्रोहले
न मलाई बाहिर छुन्छ न भित्र केही हुन्छ ।
किनकि !
बाहिर जे छु ! भित्र पनि हुबहू छु ।
तिम्रो आडम्बर र इर्ष्याले
मलाई जसरी बाहिर असर पर्दैन
भित्री मनलाई बाह्र हातको टाँगोले छुँदैन ।
कहिले काहीँ तिमी मलाई
प्रश्नको डङ्गुरमा राख्छौ !
एउटाको समाधान गर्न नपाउँदै
तिमी अर्को बात राख्छौ !
तिमीले तर्साउन खोजे पनि
तिमीले डराउन खोजे पनि
या त ब्ल्याक मेल नै गरे पनि
खुशी खुशी जबाव दिन मलाई आउँछ ।
हाँसेर खुशीले जबाव दिएँ भन्दैमा
तिमीले मेरो भविष्य र विश्वासमा
औंला ठड्याउँन भने पाउँने छैनौ !
मेरो स्वतन्त्रता तिमीसँग थिएन ,
छैन र रहने पनि छैन
किन कि ! त्यो हाँसो र रोदन मेरो
आमाको कोख र बाबुको रगतबाटै
लिएर आएको
जन्मसिद्ध अधिकार हो ।
मेरो पेवा हो ।
म निःशब्द छु !
भरसक रहन्छु ! म सहन्छु पनि !!
तर मैले मेरो मुख खोल्नु परे
तिमी नि:शब्द हुनेछौ ।
यसैले बिन्ती छ तिमीलाई,
चन्द्रमाको मुहारमा पनि
निष्कलङ्कित दाग छ भनेर
हिलो छ्याप्ने काम नगर
मलाई कुनै नक्षत्रको नाम जोडेर
बिलो लाउने काम नगर ।
यदि सक्छौ भने !
तिमी मान्छौ नै भने
पृथ्वी, धरा, धरणी,धरती, माता र जननीसित
सँगै राखेर अथवा हाराहारीमा राखेर
मान, सम्मान र आदर गर्न सिक !
दुर्गा, लक्ष्मी, सरस्वती र काली नै भए पनि
नारी , महिला , आमा र माता हुन् भनेर
सगौरव सम्मान गर
किन कि
म आफैँलाई
नारी-महिला र आमा हुनमा
म गौरव मान्छु , अनि
आफैंलाई स्त्री भएर
जन्म लिएकोमा
भाग्यशाली ठान्छु ।
अनि भएछ भने पुनर्जन्ममा पनि
महिला, नारी , स्त्री र माता नै भएर
यस पवित्र धरामा
जन्म लिएर आउने
ईश्वरसित प्रार्थना गर्दछु !
अनि तिमीलाई पुनः पुरुष भएर
जन्माउन सकौँ
किन कि म ,
सृष्टि कर्ता हूँ , माता हूँ !! धरा हूँ,
महिला हूँ! नारी हूँ ! अनि धरतीमाता हूँ ।
गान्तोक, सिक्किम भारत
2 Comments
milanbohra2@gmail.com
गीताश्री शर्माको कवितामा नारीशक्तिको आवाज बुलन्द छ। सुन्दर प्रस्तुति
सहीखबर संवाददाता
धन्यवाद