मकवानपुर । मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले युबाहरुमा खेल तर्फको आकर्षण बढीरहेकोले पालिकाले खेलकुद क्षेत्रमा पालिकाले बजेट व्यवस्थापन गर्ने बताएका छन् ।
खेलाडीले स्थानीय स्तरमा मात्र खेलेर पुग्दैन राष्ट्रिय स्तरको खेल खेल्ने गरी तयार रहनुपर्ने भएकोले त्यस्तो टिम तयार गर्नुपर्ने हुमागाई बताए । उनले भने–‘आउँदो मंसिर महिनामा फेरि पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिने छ ।’
मकवानपुरगढी ३ मक्रान्चुली फुटसलमा आयोजित चौथो गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटबल प्रतियोगिताको आइतबार समापन कार्यक्रममा अध्यक्ष हुमागाईले प्रतियोगिता कहाँ गर्ने भन्ने पछि नै तय गरिने छ । सकेसम्म अलि फराकिलो र व्यवस्थित चौरमा खेल आयोजना हुने उनले बताए ।
पालिका स्तरीय फुटसलमा लगातार तेस्रो पटक पनि प्रतियोगिता जित हाँसिल गरि मकवानपुरगढी २ कुर्लेमा रहेको सौजन्य युवा क्लबले रनिङ्गशिल्ड आफ्नो पोल्टामा पारेकाे छ । पालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगितामा सर्वाधिक गोल कर्ता सुजन बोम्जन, सर्वोत्कृष्ट गोल रक्षक सुजन पाख्रीन र सर्वोत्कृष्ट खेलाडी आयुश दुलाल घोषित भएका थिए ।