मकवानपुर । ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तक लोकार्पण गरिएकाे छ । राजनीतिक, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउएका मकवानपुरका श्यामप्रसाद शर्माको स्मृतिमा विभिन्न व्यक्तित्वले लेखेकाे रचनाहरुको संगालो ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तकको शनिबार लोकार्पण गरिएकाे हाे ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तक बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ तथा राजनीतिक एवम् सामाजिक व्यक्तित्वले शनिबार हेटौंडामा लोकार्पण गरेका हुन् ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा भएको पुस्तक लोकार्पण समारोहमा श्यामप्रसाद शर्माको व्यक्तित्वका विषयमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी गराएका थिए । प्राध्यापक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गरेकाे पुस्तक ६६ जना व्यक्तिका रचना संगालोको रुपमा प्रकाशित भएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा राजनीतिकर्मी बद्रिप्रसाद खतिवडा, केदार न्यौपाने, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओमबहादुर ग्लानसहित साहित्यकार, राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।
बि.सं. १९८६ मा मकवानपुरको मन्थली, सोलीथुममा जन्मनुभएका श्यामप्रसाद शर्माको २०७४ साल बैशाख २४ गते निधन भएको थियो ।