मकवानपुर / बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले आर्थिक पत्रकारीता गर्ने पत्रकारहरूबाट प्रदेशको आर्थिक मामिलामा महत्वपूर्ण सुझाव प्राप्त हुने आशा प्रकट गरेकी छन् ।
पत्रकारले तीनै तहको सरकारलाई जिम्मेवार बनाउन सक्ने बताउंदै आर्थिक मन्त्री खड्काले भनिन् “संघीय व्यवस्था बलियो बनाउने आर्थिक पाटो चुस्त हुनुपर्छ ।”
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा हेटौंडामा आयोजित सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसँगको सहकार्यमा आर्थिक पत्रकारहरूलाई सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि तालीम तथा अभिमुखिकरणमा यस्तो बताएकी हुन् । संघीय व्यवस्था सफल बनाउन बित्तीय संघीयता सफल हुनुपर्ने उनले बताइन् । पत्रकारको अध्ययन बिश्लेषणले राष्ट्रको वित्तीय व्यवस्था दरिलो हुने उनले बताइन् ।
सही सूचनाको विश्लेषणले जनतालाई बलियो बनाउने भएकोले सबै प्रकारको नेतृत्वलाई जिम्मेवार बनाउने सुझाव महत्त्वपुर्ण हुने उनले बताइन् । “भौतिक पुर्वाधार क्षेत्रमा विकास गर्नको लागि मात्र बजेट व्यवस्था गरिनु पनि संघीयताको उपलब्धि हैन, भूई तहका व्यक्तिको पहुँचमा पुग्ने विकास गरिनु आवश्यक छ” उनले भनिन् । वित्तीय अनुशासनको पाटोमा पनि पत्रकारले चासो राख्नुपर्ने उनले बताइन् ।
कार्यक्रम बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थ सचिव धनिराम शर्माले आर्थिक सूचनाहरू जनताका बिचमा लैजाने क्रममा पत्रकारहरूबाट प्राबिधिक त्रुटि हुने गरेको गुनासो गरे । सरकारले बिनियोजित गर्ने बजेट मितव्ययी भए नभएको, दोहोरपना आए नआएको बारे चासो राखिदिन उनले आग्रह गरे । पारदर्शीतालाई ध्यानमा राख्दै लक्ष्यित बजेट, खर्च बारे राम्रो अध्ययन नभएको उनले बताए । सरकारले बजेट ल्याउनु अघि जनताको सुझाव संकलन भए नभएको, संसदीय नियन्त्रणको अवस्था, कर प्रणाली, योजनाको दीर्घ प्रभावित बारे सूचना आमनागरिकमा लैजान मिडियाले भूमिका निर्वाह गर्नु पर्ने अर्थ सचीव शर्माले बताए ।
आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष जनार्दन बरालको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धमा हालसम्मका व्यवस्थाहरू बारे पेफाका सदस्य सचिव गोरखबहादुर शाहीले र प्रदेश बजेट खर्च प्रणाली तथा प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने कामहरू बारेमा बागमती प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव सुशील पाण्डेले केन्द्रिय तथा प्रदेश बजेट अनुदान प्रणाली, पुँजीगत खर्च संचित कोष बजेट घाट यसका समस्या र अभ्यास बारे जानकारी गराएका थिए । यसैगरी सेजनका निवर्तमान अध्यक्ष भीम गौतमले सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धि हालको रिपोर्टिङ बारे पत्रकारलाई सहजीकरण गरेका थिए ।