मकवानपुर । बागमती प्रदेशकाे प्रदेशसभाकाे अधिवेशन आह्वानकाे सिफारिस गरिएकाे छ । बुधबार बसेकाे प्रदेश पम्त्रिपरिषद् बैठकले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्न सिफारिस गरेकाे हाे ।
मन्त्रिपरिषद् बैठकले असोज २४ गते अाइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । हालका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेकी थिइन् ।
प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन पश्चात १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै शाक्य नेतृत्वको सरकार पूर्णरुपमा अल्पमत परिसकेको छ । सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।
वाग्मती प्रदेशमा हाल १ सय ९ सांसद छन् । सभामुखसहित ५६ सांसद रहेको एमालेको तर्फबाट एकल बहुमतको सरकार बनाएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ सांसद मात्र छन् । सरकार टिकाउन ५५ सांसद चाहिन्छ । साना दलसँगको सहकार्यमा शाक्यको पद जोगिने सम्भावना छैन । प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेस २२ र नेकपा (एकीकृत समाजवादी) १३ र स्वतन्त्र सांसद १ गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ ।
यस अघी नै ३ सांसद रहेकाे विवेकशील साझा पार्टीले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।