मकवानपुर । नेपाल टेलिकमले असोज १९ गते मङ्गलबारदेखि ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएकाे छ । नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको हाे ।
टेलिकमकाे अफर आउँदाे कात्तिक २ गतेसम्म रहने तथा अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने नेपाल टेलिकमले जनाएकाे छ ।
डाटा प्याकअन्तर्गत १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयामा उपलब्ध हुनेछ । भ्वाइस सेवा अन्तर्गत २५ रुपैयामा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयामा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयामा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ । यसैगरी २ सय ९४ रुपैयामा २० जीवी डाटा १० दिनभित्र र ९८ रुपैयामा ६ जीवी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ । २ सय देखि ४ सय ९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जानकारी दिएकाे छ । उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५ डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।