मीरा न्यौपाने गजुरेल
१.
सुन्दर शान्त एकताको परिवेश कसरी बनाउन सक्छौ ?
छैन समानता देशमा एउटै भेष कसरी बनाउन सक्छौ ?
झुटा र ठुला भाषण ठोक्नेहरू,खोक्रोआदर्श बोक्नेहरू!!
आफ्नैआँगन आफैँ भत्काउनेले देश कसरी बनाउन सक्छौ ?
२.
यी आँखाहरूले अब कत्ति रहर तिम्रा गन्न सक्दिनँ म
सधैँ फूूल दिँदा काँढा दिनेलाईआफ्नो भन्न सक्दिनँ म
जति हृदयले पुजे पनि, यादमा रातदिन डुबे पनि
पलपल यो मन जलाउनेको आफ्नो बन्न सक्दिनँ म।
३.
मनोहर छ प्रकृति शरद्ऋतुको मिठो प्रहर चलेको छ
घरमा दसैँ पसेको छ मनमा उल्लास र रहर चलेको छ
अम्बा र सुन्तला बारीभरि धानका बाला झुलेकाआलीभरी
दङ्ग छन्,किसान शरद् ऋतुको मिठो लहर चलेको छ।
४.
आफ्नै स्वार्थ मात्र बटुल्ने ती नेता भएनन् थेचा भए
कहिल्यै जाती भएनन्,सधैँभरि जनताका व्यथा भए
यो देश कहिल्यै दुख्दैनथ्यो,जनताको मन टुट्दैनथ्यो,
शान्ति र समृद्धिले भरिन्थ्यो देश स्वाभिमानी नेता भए।
५.
कहिले पत्नी बनेर लेखेँ, कहिले प्रेमिका बनेर लेखेँ,
हरजन्म तिम्रै दासी प्रिय, ! तिम्रै सेविका बनेर लेखेँ,
कल्पनामा हराउँदा, सम्झनामा अश्रुहरू बहाउँदा,
प्रेमको मिठो अनुभूति गर्दै सधैँ लेखिका बनेर लेखेँ।
तीनकुने काठमाडौं