लक्ष्मी निरौला
१.
हाम्रै निम्ति खटिँदाका ठेला हत्केलामा लिएर गयौ
आफ्नु सास समेत प्रकृति लाई जिम्मा दियेर गयौ
सन्तान सुखी रहुन् भन्दै गरेउ मेहनत पौरखी भै,
दिई जिम्मा श्री सम्पति आफू गङ्गाजल पिएर गयौ ।
२.
नीति नियम मर्यादाको पालक बनेको छु
लक्ष्य विहिन गन्तव्यको चालक बनेको छु
बाँधिएका छन् हात पाउ सहित जीउ पनि,
तेसैले एउटा बबुरो ~ बालक बनेको छु।
३.
मिर्मिरेले रवि किरण~तिम्रै माथमा पारोस्
गोधुलिले इन्द्र धनुष~तिम्रै हातमा झारोस्
सुख,शान्ति,समृद्धि र सबल स्वास्थ्य सहित,
विधताले दीर्घ जीवन~तिम्रै गाथमा सारोस् ।
४.
आफू संतृप्त हुन अर्काको मन चर्न खोज्छन्
उसैको पुच्छर समाई वैतर्नी तर्न खोज्छन्
मनको भित्री बगैंचामा स्वार्थकाे फूल फुलाई,
आडम्बरी उपकारको सद्भाव छर्न खोज्छन्
५.
फल लाग्ने भएपो घमण्ड फुल्नुको अर्थ हुन्थ्यो
वाला लाग्ने भएपाे उन्यूले झुल्नुको अर्थ हुन्थ्यो
पर्दा भित्रै रहेको बेश सुन्दर् स्वप्ना देख्ने नयन् ,
सत्य तथ्य देखेपो नजर खुल्नुको अर्थ हुन्थ्यो ।
झापा