मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा उपचारपछि डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछी असोज ४ गते उपचारकाे लागि अस्पताल भर्ना भएका शर्मा असाेज १४ गते डिस्चार्ज भएका हुन् ।
विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्याबाट ग्रसित रहेका प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । प्रदेश प्रमुख शर्माको स्वकीय उपसचिव पारशमणि फुयालका अनुुसार शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र,उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो ।
प्रदेश प्रमुख शर्मा सफल उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । प्रमुख शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका ३ वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गरेका छन् । शर्माले आफू अस्वस्थ भई अस्पतालमा उपचाररत रहेका बेला स्वास्थ्य लाभका लागि कामना गर्ने अग्रज,शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्मा आगामी मंगलबार नियमित फलोअपपछि नियमित कार्यमा फर्कनुहुने स्वकीय उपसचिव फुयालले जानकारी दिए ।