मकवानपुर /बचत तथा ऋण सहकारीलाई पैसाको व्यापार गर्ने संस्था भन्ने आरोप लाग्न थालेकोले सहकारीहरूले आफ्नो पारदर्शितामा अधिकतम ध्यान दिनुपर्ने प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा सहकारी अभियन्ता नारायणप्रसाद देवकोटाले बताएका छन् । शनिबार हेटौंडामा आयोजित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि को १५ औ बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
सहकारी अभियानमा आवद्ध सहकारीले लघु बिक्त क्षेत्रमा काम गर्नुपर्ने उपाध्यक्ष देवकोटाले बताए । ग्रामीण कृषि क्षेत्रमा धेरै भन्दा धेरै लगानी गरेमात्रै सहकारीको भबिष्य सहज भएको उनले बताए । सहकारीको नीति र बिधिलाई पछ्याउन लेखा समिति सबैभन्दा चुस्त रहनु पर्ने उनले बताए । सहकारी, निजि र सरकारी एकाकार नभएसम्म समृद्ध नेपाल संभव नभएको बताउँदै उपाध्यक्ष देवकाेटाले भने ‘सरकारले तीन खम्बे नीति लिएको छ तर सहकारीलाई बेवास्ता गर्दै आएको छ, याे सह्य विषय हैन ।’ ‘अब सहकारीले सरकार खोज्दै जाने हैन, सरकारले सहकारी खोज आउने गरी हामी बलियाे हुनुपर्छ’ उपाध्यक्ष देवकोटाले भने ।

कार्यक्रममा मकवानपुर जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठले सहकारीहरूले शेयर सदस्यहरूको विचारलाई मनन गर्दै अगाडि बढ्ने हो भने कम्तिमा १५ दिन अगावै प्रतिवेदन दिनुपर्ने र भेलाबाट सुझाव लिनुपर्ने बताइन् । राज्यले सहकारीको लागि दिने सहुलियत सहकारी भन्दा बाहिरको व्यक्ति तथा संस्थाले लिदै आएको गुनासो उनले गरिन । कर्जा सूचना केन्द्र र दृष्टि बन्धकमा लाग्दै आएको शुल्क खारेजी गर्न सहकारी बोर्डले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

साधारणसभामा कृषि विकास बैंकका प्रबन्धक तथा हातेमालो सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष नुरप्रसाद गौतमले सहकारीहरू आशा लाग्दो र भरपर्दो बन्नुपर्ने बताए । यसको लागि कर्मचारी र सन्चालकहरू सधै सचेत हुनुपर्ने गौतमले बताए । आर्थिक गतिविधि दरिलो नभएसम्म शेयर सदस्यहरूको हित गर्न नसकिने भएकोले अझै चुस्त र पारदर्शी काम गर्न उनले आग्रह गरे ।
कोरोना महामारीको कारण सहकारीको कारोबारमा धक्का लागेको हातेमालो बचत तथा ऋण सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । यद्यपि सहकारीले कोभिडको बेलामा कोभिड प्रभावित शेयर सदस्यलाई व्यवसाय सन्चालनको लागि प्रोत्साहन गरिएको पौडेलले बताए ।
सहकारीले शेयर सदस्यहरूलाई सुत्केरी पौष्टिक आहार खर्च स्वरुप एक हजार पांचसय रुपियाँ सुबिधा प्रदान गर्दै आएको छ ।

सहकारीले यसबर्ष ज्येष्ठ सदस्य तर्फ रामप्रसाद दाहाल र शुभमाया बिश्वकर्मा, नियमित तथा उत्कृष्ट बचतकर्ता तर्फ समिता ढुङ्गाना र बिष्णुप्रसाद दाहाल, नियमित तथा असल ऋणतर्फ तारादेवी बिष्ट र राजेन्द्रकुमार घिमिरे, उत्कृष्ट कर्मचारी तर्फ पुष्प दाहाललाई पुरस्कृत तथा सम्मानित गरेको सचीव केशवप्रसाद घितालले बताए ।

सहकारीले आगामी दिनमा सामाजिक उत्तरदायीत्व बहन गर्दै कम्तिमा २ वटा सामाजिक कार्यक्रम गर्ने तयारी गरेको पौडेलले बताए । हाल २ हजार १ सय ३५ जना शेयर सदस्यहरू आवद्ध रहेको सहकारीमा ४९ करोड २२ लाख ४३ हजार कारोबार रहेको छ । सस्थाले आगामी बर्षको लागि ६० करोड ३७ लाख कारोबारको लक्ष्य राखेको कोषाध्यक्ष सिताराम दाहालले बताए । सहकारीमा तीन कार्यकालसम्म सन्चालक समिति सदस्य रहेर योगदान गरे बापत बकैयाका चन्द्र कुमार राईलाई पनि सम्मान गरिएको थियो ।
