मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरले मकवानपुरका १० वटै पालिकाको इन्चार्ज ताेकेकाे छ । नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटीको पहिलो बैठकबाट मकवानपुरका १० वटै पालिकाको इन्चार्ज, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख तथा आर्थिक विभाग प्रमुख चयन गरेको छ ।
नेकपा (एस) मकवानपुरका उपाध्यक्ष मीनाकुमारी लामालाई हेटौंडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी दिइएकाे छ भने थाहा नगरपालिकामा ईश्वर रुम्बालाई इन्चार्जको रुपमा चयन गरिएको नेकपा (एस) मकवानपुर अध्यक्ष श्रीधर पाेखरेलले जानकारी दिए ।
गाउँपालिकाअन्तर्गत् मनहरी इन्चार्जमा भूमिनन्द अर्याल, भीमफेदी इन्चार्जमा शिवहरि बर्तौला, बागमती इन्चार्जमा खड्गबहादुर पुलामी तथा बकैया इन्चार्जमा नारायण तिमल्सिना तोकिएका छन् । यसैगरी मकवानपुरगढी इन्चार्जमा राजन दाहाल, ईन्द्रसरोबर इन्चार्जमा जीवन लामा, कैलाशमा कालु ढकाल र राक्सिराङ गाउँपालिका इन्चार्जमा कृष्ण चेपाङलाई चयन गरिएको छ ।
बैठकले ४९ सदस्यीय सचिवालय समिति गठन भएको छ । सचिवालय सदस्यमा जिल्ला कमिटीका अध्यक्ष पोखरेल, उपाध्यक्ष लामा, सचिव विष्णु दाहाल, उपसचिव जीवन लामा, कार्यालय सचिव तिलक अधिकारी, पालिका इन्चार्जहरु, विभाग प्रमुखहरुसहित माधव तिमल्सिना, मनिला विष्ट, रघु आचार्यलगायत रहेका छन् ।
बैठकले जिल्लाभर साधारण सदस्यता वितरण गर्ने, सांगठनिक सदस्यता अध्यावधिक गर्ने, असोज १९ गतेसम्ममा मकवानपुर जिल्लाका सबै वडाहरुमा वडा कमिटी विस्तार गरिसक्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए । जिल्लाका १ सय २ वडामध्ये ५ वडामा कमिटी विस्तार भइसकेको छ । बाँकी वडामा पनि तोकिएको मितिभित्रै वडा कमिटी निर्माण गरिने पार्टीले जनाएकाे छ ।