मकवानपुर । महिलाले महिनावारीकाे समयमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्ने भन्दै बहस चलिरहेको बेला मकवानपुरको बकैया गाउँपालिकाले भने गाउँपालिका भरका विद्यालयहरुमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको छ ।
महिनावारीको समयमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा सरकारले कर लगाएकाेमा महिला सम्बद्ध संस्थाहरुले विराेधमा प्रदर्शन गरेका छन् । पछिल्लो समय देशभर सेनेटरी प्याडमा लगाएकाे कर हटाउने र निशुल्क गर्नपर्ने माग सहित दैनिक महिला र पुरुष सहभागी भएर विराेध प्रदर्शन तथा सरकारलाई ज्ञापनपत्र बुझाउदै आएका छन् । तर वकैया गाउँपालिकाले भने निशुल्क सेनेटरी प्याडकाे व्यवस्थाका लागि सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्न थालेकाे छ ।
असाेज १० गते आइतबार हात्तीसुँडेस्थित गाउँपालिका कार्यालयमा मेसिन जडान गरी परीक्षण गरिएको हो । विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरणलाई सरल, सहज र व्यवहारिक गराउन मेसिन जडान गर्न लागिएको गाउँपालिकाले जनाएकाे छ । मेसिनमा दुई रुपैयाँको सिक्का राखेर प्याड लिन सकिनेछ । प्याड निःशुल्क वितरण गरिने हुँदा मेसिनमै सुरक्षित रहने उक्त सिक्कालाई प्रयोगकर्ताले पुनः प्रयोग गर्नेछन् । साथै, प्रयोग गरिसकेको प्याड नजिकै जडान गरिएको डिस्पोजल मेसिनबाट नष्ट गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षको योजना अन्तर्गत विद्यालयमा ‘महिनावारीले सफलता नछेकोस्’ भन्ने हेतुका साथ गाउँपालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयहरुमा मेसिन राख्न लागिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् । ‘गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा १७ वटा सेनेटरी प्याड भेन्डिङ मेसिन खरिद गरेको थियो’ बाेलखेले भनिन् ‘कोरोना संक्रमणको कारण जडान नभएकाले मेसिन जडान गर्न लागिएको हो ।’
बालमैत्री गाउँपालिका घोषण भएसंगै छात्राहरु महिनावारी हुँदा प्याडकै अभावले विद्यालय छुटाउन नपरोस भन्ने हेतुले विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको उपाध्यक्ष बोलखेले बताइन् । महिनावारी हुँदा छात्राहरुले विद्यालय छाेडनु पर्ने अवस्थाकाे अन्त्य गर्न निशुल्क सेनेटरी प्याड व्यवस्था गरेको बाेलखेले बताइन् ।
गाउँपालिकाका रहेका ११ वटा मावि र बाकि विद्यालयमा ५ वटा मेसिन तत्काल केहि दिनमै जडान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षको १९ लाख ७० हजार बजेटकाे ठेक्का सूचना अनुसार उक्त योजनामा ११ लाखमा ठेक्का परेसंगै गाउँपालिकाले सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन खरिद गरेको थियो ।