सानु खनाल ‘समदर्शी’
१.
आजै दिए हुन्छ दानमा, किन कन्जुस्याईँ गर्छौ ?
तिमी आफ्नै जमानमा, किन कन्जुस्याईँ गर्छौ ?
न कुनै चीजको खति, न त हुन्छ धनको क्षति
जाबो एउटा मुस्कानमा, किन कन्जुस्याईँ गर्छौ ?
२.
न मान न प्रतिष्ठा, दुनियाको हप्काइ दप्काइ खानुपर्छ
यो कस्तो व्यवस्था हो, जहाँ डाक्टरले कुटाइ खानुपर्छ
मै हूँ भन्ने सामन्तका आसेपासे खेतालाहरुबाट बँचेर
आफ्नो योग्यताको जागिर पनि डराइ डराइ खानुपर्छ ।
३.
आमा ! यो तिम्रो सन्तानलाई आशिर्वचन पठाईदेऊ
म अझै बाँच्न चाहान्छु मलाई अक्सिजन पठाइदेऊ
यो मुटु यो फोक्सो अब छिट्टै बन्द हुने चरणमा छन्
तिनलाई दुई चारदिन धान्न पुग्ने धड्कन पठाइदेऊ ।
४.
जित मात्रैले पनि अभिमान बढ्छ, हार सिकाउनु पर्छ
सुख दुःख दुईटा पाटो, जीवनको सार सिकाउनु पर्छ
सन्तानको उन्नति प्रगतिमा, साँच्चै गौरव गर्नु छ भने
सबैभन्दा पहिले तिनीहरुलाई, संस्कार सिकाउनु पर्छ ।
५.
जब राती अबेरसम्म नि छोरो घरमा आउँदैन
जागै बस्दिन्छ बा आमाका आँखा निदाउँदैन
ए समय ! तैँले के सिकाउँदैछस् यो पिँढीलाई
लाग्छ अब हाम्रो बुढेसकालले साहरा पाउँदैन ।
हेटाैडा, मकवानपुर