मकवानपुर । महिलाविरुद्ध हुने हिंसा न्यूनिकरण गर्ने र महिला अधिकार सुनिश्चित गराउने उद्देश्यसहित युवा तथा पुरुषलाई मानव अधिकार तथा महिला अधिकारसम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण परियोजना अन्तर्गत मनहरी गाँउपालिकाका युवा तथा पुरुषहरूलाई असोज ७ र ८ गते “मानव अधिकार तथा महिला अधिकार” तालिम दिइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र डब्लूपिडीको पर्यवेक्षणमा तालिम दिइएकाे थियाे ।
तालिममा कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै इन्सेककी व्यवस्थापन प्रमुख शुभेक्षा खड्काले महिला हिंसा न्यूनिकरणको लागि पुरुषको पनि समान दायित्व हुने भएकोले युवा तथा पुरुषलाई तालिमको आयोजना गरेको बताइन् । उनले पुरुषले दिनानुदिन गर्ने व्यवहार हिंसा हो होइन, के गर्दा हिंसा हुन्छ, के गर्दा हुँदैन भन्ने ज्ञान नहुँदा पनि घरेलु हिंसाले निरन्तरता पाइरहने हुनाले त्यस्ता घटनाको न्यूनिकरणका लागि तालिममा पुरुष सहभागीता गराइएको बताइन् ।
कार्यक्रममा इन्सेकका मानव अधिकार शिक्षा विभागका प्रमुख मदन पौडेलले मानव अधिकारको ऐतिहासिक अवधारणागत प्रस्तुत गरेका थिए । उनले नेपालमा मानव अधिकारको कार्यान्वयनको अवस्था ऐन नियम र महिलाको अधिकारको संरक्षणको लागि गरिएको व्यवस्था समेत अवगत गराएका थिए । कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले नेपालको संबिधान र मौलिक हक तथा मानव अधिकारको विकास क्रमबारे तालिममा प्रस्तुतिकरण गरेका थिए । नेपालले नेपालको संविधन २०७२ ले नागरिकका लागि प्रत्याभूति गरेको भाग ३ को धारा १६ देखि ४७ सम्मको मौलिक हकमा भएको व्यवस्था र धारा ४८ मा भएको नागरिकको कर्तव्य बारे सहजिकरण गरेका थिए ।
यस्तै इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारबारे सहभागीहरूलाई जानकारी दिए । भण्डारीले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सरकारले जनतालाई सुनिश्चितता गरेको उल्लेख गरेका थिए । निशुल्क तथा गुणस्तरीय शिक्षा, बालबालिका मैत्री विद्यालय, छात्रावृति, दिवा खाजा कार्यक्रमको व्यवस्था सरकाले गरेको भण्डारीले जानकारी गराएका हुन् ।
यसैगरी जनताको आधारभूत स्वास्थ्य उपचारको व्यवस्था, स्थानीय स्वास्थ्य चौकीमा निशुल्क औषधिको व्यवस्था, कोभिड–१९ सङ्क्रमण विरुद्ध निशुल्क उपचार, दीर्घ रोगको लागि आर्थिक सहयोग, स्वास्थ्य बिमा कार्यक्रम र जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था बारे जानकारी दिइएको थियो ।
साथै खाद्य अधिकार सुनिश्तिताका लागि कृषि र पशुपालनको क्षेत्रमा सरकाले ल्याएको अनुदान कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्था तथा विपन्न, एकल र पिछडिएका वर्गका लागि सुरक्षित आवास र फुसको छानो रहितको घर कार्यक्रम पनि यही मौलिक हकको कार्यान्वयनको चरण रहेको पनि उल्लेख गरिएको थियो ।
अधिवक्ता अप्सरा बस्नेतले घरेलु हिंसा र कानुनी प्रावधानका बारेमा धारणा राखेकी थिइन् । उनले महिलामा माथि हुने हिंसाका प्रकार, हिंसाबाट हुने शारीरिक र मानसिक असर तथा हिंसा पीडित महिला लागि भएको कानुनी व्यवस्था बारे जानकारी गराएकी थिइन् । तालिममा मनहरी गाउँपालिकाका ३५ जना युवा तथा पुरुषहरूको सहभागिता रहेको थियो ।