सावित्री अधिकारी
आजकाल त घरको चुलो बाल्नै गाह्रो भो
रित्तिसक्यो गोजि आफ्नो पेट पाल्नै गाह्रो भो ।
महिना बितिसक्यो अब हात खाली भाको
फाटी सक्यो धोती चोली पनि टाल्नै गाह्रो भो ।
प्राइभेट शिक्षक म सवै गर्छन आदर
सम्मानकै भरमा पाइला चाल्नै गाह्रो भो ।
कोरोनाको त्रास मात्र फैलियो सबैतिर
यस्तो बेला नयाँ काम पनि थाल्नै गाह्रो भो ।
गाउँ फर्की जाउँ भने नि बस्ने बास छैन
भुकम्पले लडाको घर उचाल्नै गाह्रो भो ।
छोराछोरी निन्याउरो परि हेर्छन् मुखमा
कठै !मिठो मसिनो मुखमा हाल्नै गाह्रो भो ।
कति छन् कति पिडा कसलाई सुनाउनु
मनको पीर यी आँसुले पखाल्नै गाह्रो भो।
काठमाडाै