मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध अफिम जस्तो देखिने बस्तु २ किलो १ सय ग्रामसहित १ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिकाका राजन मोक्तान रहेका छन् ।
शुक्रबार बिहान ९ बजेको समयमा भीमफेदी गाउँपालिकाको भैंसेस्थित प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा कैलाश-२ का २१ वर्षीय मुक्तानलाई सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित भैंसे बजारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका राजनलाई प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकमा ३ हजार गाजाँकाे बिरूवा नष्ट गरेकाे छ । असाेज ८ गते शुक्रबार ३:४५ बजेको समयमा प्रहरी चौकी चैनपुर राक्सिराङबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिणामकाे लागु औषध गाँजाकाे बिरूवा नष्ट गरेकाे हाे ।

राक्सिराङ वडा नं. ३ झिल्किनीबाट पलासे तर्फ गई रहेको नम्वर नखुलेको मोटरसाइकलमा रहेका व्यक्तिले गस्ती प्रहरी टोलिलाई देखि मोटरसाइकलमा ल्याएको २ वटा सेतो बोरा फालि भागेको थिए । प्रहरी टाेलीले उक्त बोरा खोली हेर्दा बोरा भित्र करिब ३ हजार वटा लागुऔषध गाँजाको बिरुवा फेला पारी नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएकाे छ । उक्त बिरुवा ल्याउने ब्यक्तीको खोजतलाश गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।