मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाैडाकाे भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएकाे छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकाे पुरानाे भवन २०७२ सालको भूकम्पका कारण जिर्ण बनेको थियाे । कार्यालयका लागि नयाँ सुबिधा सम्पन्न ५ तले भवन निर्माण सम्पन्न गरी जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले हस्तान्तरण गरेकाे हाे ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले पाँच तल्ले सुबिधा सम्पन्न भवन भ्याट बाहेक कुल १३ करोड २६ लाख ६० हजार रुपैयाँमा भवन निर्माण गरि असाेज ७ गते कार्यालयलाई हस्तातरण गरिएकाे छ । जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख इन्जिनियर तुलसी राम खर्वुुजाले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालला नयाँ भवन हस्तान्तरण गर्नुभयो ।
निर्माणको जिम्मा पाएको हनुमान कन्ट्रकसनले सक्नुपर्ने मिति अगाबै भवन निर्माणको काम सकेको हो । कुल साना ठुला कोठा, हल समेत गरेर ५२ वटा कोठाको भवन निर्माण भएको इकाइ भवनका लेखापाल दिपक गजुरेलले वताए । यस भवनको चौथो तल्लामा ३ वटा कोठा भएको सुबिधा सम्पन्न आवासको सुविधा समेत छ ।

प्रत्येक तल्लामा शाैचालय र भुईं लल्लामा अपाङ्गमैत्री शाैचालयको व्यवस्था समेत गरिएको छ । भवनको अगाडी आकासे पानी रिचार्ज गर्ने पीट समेत निर्माण गरिएको भवनका इन्जिनियर रविन पाठकले वताए । भवनमा सोलार सिस्टम, भवन सम्म आउनका लागि स्लाब ढलान बाटो, पार्किङ सेडको व्यवस्था, क्यान्टीन ब्लक, पालेघर, सुरक्षा पोष्ट, पम्प हाउस, फायरफाइरिङको व्यवस्था भएको र बगैचा समेत निर्माण गरिएको छ ।