मकवानपुर । हेटाैडामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएकाे छ । वैदेशिक रोजगारलाई सुरक्षित, शोषणमुक्त गराउने उदेश्यका साथ सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको हाे ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि प्रहरी संग एक दिने अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारी अवस्था, संसोधित वैदेशिक रोजगारी ऐनमा प्रमुख जिल्ला अधिकारिको भूमिका र आप्रवासी श्रोत केन्द्र सँगको सहकार्य विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणी पाण्डेले प्रस्तुतीकरण गरेका थिए ।
त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले वैदेशिक रोजगारी सम्बन्धि न्यूनीकरणमा प्रहरीको भूमिका सम्बन्धि जानकारी गराएका थिए । सामी परियोजना हेल्भेटासका कार्यक्रम अधिकृत उमा पौडेलले सामी परियोजनाको बारेमा जानकारी गराएकी थिईन् । त्यसैगरि कार्यक्रम संयोजक अन्जिता थापा मगरले आप्रवासी श्रोत केन्द्रले प्रदान गर्दै आएको सेवा, केन्द्रमा आएका समस्या र न्यायको सहजीकरण सम्बन्धि जानकारी गराएकी थिईन् ।
आप्रवासी श्रोत केन्द्र वैदेशिक रोजगार सम्बन्धि आएका समस्याहरु सिफारिस समाधानको लागि सहजीकरण र फलोअपलाई निरन्तरता दिने, जिल्ला प्रहरी संग प्रभावकारी समन्वय गर्ने , जिल्ला प्रशासन कार्यलय जिल्ला प्रहरी कार्यालय तथा न्यायिक समितिमा आएका वैदेशिक रोजगारका समस्याहरु छलफल तथा सहजीकरणको लागि आप्रवासी श्रोत केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ ।
जिल्लामा जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत केन्द्रले सहि सूचना दिने, निःशुल्क सीप र न्यायको पहुँचका लागि सहजीकरण गर्ने गर्दै आएको छ । साथै चार वटा स्थानीय तह , हेटौंडा उपमहानगरपालिका , थाहा नगरपालिका , मनहरी गाउपालिका र बकैया गाउपालिकामा वैदेशिक रोजगारीमा रहेका ब्यक्तिको परिवारका सदस्यका लागि बित्तीय साक्षरता कक्ष , मनो सामाजिक परामर्श सेवा र रिटर्नी स्वयंसेवक परिचालन मार्फत सचेतनामुलक कार्यक्रम संचालन हुँदै आएको छ ।
हेटौंडा उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना लामाको प्रमुख आतिथ्यतामा एकीकृत ग्रामीण बिकास सेवाको अध्यक्ष सीता बिष्ट अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय अनुसन्धान कार्यालयका पप्पु शर्मा पौडेल, हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख बिष्णु कुमारी लामिछाने, आइभिडियसका सचिव मीनराज पौडेल, जिल्ला प्रशासन र जिल्ला प्रहरीका मुद्दा शाखाका प्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो ।