मकवानपुर /प्रत्येक बर्ष ७ हजार नेपाली महिला तथा बालबालिकाहरू देह व्यापारको लागि बेचबिखन हुने गरेको माइती नेपाल मकवानपुरले जनाएको छ । दक्षिण यसियामा मात्रै बार्षिक डेढलाख महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको संस्थाले जनाएको छ ।
पहिले भारतमा मात्रै बेचबिखन हुने गरेकोमा अहिले विभिन्न मुलुकमा र देशभित्र नै पनि बेचबिखन हुने गरेको माइती नेपाल रोकथाम गृह मकवानपुर प्रमुख माया लामाले बताइन् । बेचबिखनको बदलिँदो स्वरूपले रोकथाममा चुनौती बढिरहेको लामाले बताइन् ।
माइती नेपाल रोकथाम गृहको आयोजनामा हेटौंडामा आयोजित यातायात र होटल व्यवसायीसँग मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सुनगाभा गेष्टका सन्चालक तथा होटल व्यवसायी संघ मकवानपुर अध्यक्ष शंकरलाल श्रेष्ठले मोबाइलको कारण बिचबिखन रोकथाममा चुनौती भएको बताए । होटलमा श्रीमान् श्रीमती भनेर आउनेलाई शंका गर्नुपर्ने अठ्फ्यारो अवस्था आईलागेको उनले बताए । प्रहरीले होटल व्यवसायीलाई अनावश्यक झमेला दिने गरेको प्रसङ्ग जोड्दै उनले वैदेशिक रोजगारको कारण पनि बिचबिखन बढिरहेको बताए । “समाज लिभिङ टुगेदरको स्टेजमा प्रवेश गरिसक्यो कानुनी १९ औं शताब्दी कै छ, यसले पनि चुनौती दिएको छ” उनले भने “रेडलाईन एरियाको कुरा गर्दा अश्लील भनिएला तर यो आवश्यकता देखिएको छ ।”
सामाजिक सन्जालबाट धेरै सकारात्मक फाइदा भए पनि यसको दुरुपयोगले बेचबिखन बढिरहेको माइती नेपाल मकवानपुर प्रमुख लामाले बताइन् ।
यातायात व्यवसायी र होटल व्यवसायीको राम्रो साथ र सहकार्य भएमा बेचबिखन रोकथाममा अपेक्षित सफलता हासिल गर्न सकिने लामाले बताइन् ।
कार्यक्रम नारायणी यातायात ब्यवसायी संघ सदस्य रामचन्द्र बर्तौलाले यातायातको प्रयोग गरि एक ठाउँबाट अर्को ठाउँमा जांदैगर्दा बेचबिखनको शंका लागेमा सम्बन्धित निकायलाई खबर गर्न यातायात व्यवसायीहरू सधै तयार रहेको बताए । कार्यक्रम मानव बेचबिखनको अवस्था संभावना तथा कानुनी प्रावधान बारे जानकारी गराईएको माइती नेपाल मकवानपुर फिल्ड सुपरभाइजर मन लामाले बताइन् ।
