- सीता रेग्मी
“आ कति कुर्नु कहिल्यै समयमा आउने भए पो!” सुजाताले एक्लै खाना खाई। एकछिन टिभी हेरेर बसी, सुमन अझै आएन, ऊ सुत्न गई तर निन्द्रा पटक्कै लागेन।पहिला सधै समयमै आउने उसको श्रीमान् हिजोआज निक्कै राती आउँथ्यो। कारण सोध्दा अफिसको कामले ढिला भएको भन्थ्यो।
हिजो बेलुका उसले अफिसमा पनि गएर बुझेकी थिई, समयमै त्यहाँबाट हिड्ने गरेको थाह पाएपछि उसलाई विभिन्न शंका लाग्न थालेको थियो।
“केही नराम्रो काम पो गर्न लागेकी?, की कोही केटीसँग पो…….,मसँग पनि पहिला जस्तो हाँसेर बोल्दैनन्, मान्छेलाई विग्रिन कति नै समय चाहिन्छ र, एउटा रानी हार लाउन मन छ भने देखि त यिनको चाला नै अर्कै छ !”
सुमन आईपुग्यो ढोका खुल्लै रहेछ भित्र पस्यो।सुजातालाई सुतिरहेको देखेर आफै खाना पस्किएर खायो अनि सुत्यो।तुरुन्तै निन्द्रामा परिहाल्यो।निदाएझै गरे पनि सुजाता भने निदाउनै सकेकी थिईन।
बाहिरबाट ढोका ढ्याक ढ्याक गरेको आवाज आयो। एकछिन बाटो हेर्दा पनि सुमन नउठेपछि सुजाता उठेर गई, ढोका खोली “यो सुमन जीलाई दिनोस् है, जरुरी काम छ पैसाको भन्दै हुनुहुन्थ्यो, विर्सेर आउनुभएछ।”
“के को पैसा?” सुजाताले आश्चार्य व्यक्त गरी। “तपाईलाई थाह छैन? उहाँले अफिस छुट्टी भएपछि मेरो पसलमो हिसाबकिताब राख्ने काम गर्नुहुन्छ, सारै राम्रो हसनुहुन्छ काममा, इमान्दार पनि।” ऊ फर्कियो।
सुजाता शंकाले भरिएको मनलाई पश्चातापको आँशुले पखाल्दै निदाईरहेको सुमनको अनुहारमा छचल्कीएका मायाका छालहरु नियाल्दै थिई।
सुन्दरहैँचा मोरङ