नेकपा एमाले भित्रको अन्तर विरोध पछि विभाजित भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलसंग पार्टीको आन्तरिक गतिविधि तथा आगमी योजनाहरु बारे सरिता दाहालले गरेको कुराकानीको सम्पादीत अंश ।
हाल प्रदेशको राजनीतिक अवस्था बारे बताइदिनु होस् न ?
प्रदेशमा नेकपा एमालेको बहुमतको सरकार हो । पार्टी विभाजन भैसकेपछि १३ जना सांसदहरु नेकपा समाजवादीमा आवद्ध हुनु भएको छ । यो सँगै प्रदेशको सरकार अल्पमलमा परिसकेको छ । अब अल्पमतमा परिसकेपछि ३० दिन भित्र स्वतः उहाँले विश्वासको मत लिने पर्छ । केन्द्रमा गठबन्धनको सरकार भएको हुनाले सबै प्रदेशहरुमा पनि गठबन्धन कै सरकार रहने एक प्रकारको समझदारी बनिसेको छ । यो प्रदेशमा नेकपा समाजवादीकै भागमा परेको छ । त्यो हिसाबले सरकारको हकमा हाम्रो आन्तरीक तयारीहरु भइरहेको छ । हामीले औपचारीक रुपमा दल विभाज भएको पत्र पठाइसेका छौं । दलको नेता तथा पदाधिकारीहरु चुम्ने कामहरु भइसकेका छन् । अब अरु समन्वय गर्नको लागि हाम्रो दलको तर्फबाट राजेन्द्र पाण्डेलाई संयोजक तोकेर सरकार गठन लगायतको संयोजनको जिम्मेवारी उहाँलाई नै दिइएको छ । त्यसैको गृहकार्यमा उहाँ नेताहरुसँग छलफलमा हुनुहुन्छ ।
प्रदेश सरकार गठनको बारे यहाँकाे धारणा ?
सरकार त गठबन्धनको हिसाबले नै हुने हो । मुख्यमन्त्री नेकपा समाजवादीकै बन्ने समझदारी भइसकेको छ, हाम्रो प्रदेशमा । अब त्यसपछि को बन्ने भन्ने कुरा सामुहिक सरसल्लाह र सहमतिबाटै हुन्छ ।
नयाँ पार्टी अब मैदानमा आएको छ, यसको चुनौति र अवसर के देख्नु भएको छ ?
चुनौति र अवसर त भइ नै हाल्छ । चुनौति नभइ अवसर नै आउँदैन । चुनौति छ, नयाँ पार्टी निर्माण गरेर त्यसलाई सबै संगठनका संरचनाहरु निर्माण गर्नु पर्ने चुनौतिहरु छन् । नयाँ नेतृत्व विकास गर्ने यो अवसर पनि हो । हाम्रो लागि अवसर नै बढी छ । यो हिसाबले संगठन निर्माणको काम भैरहेको छ । यता सरकारको कामतिर पनि लाग्नु पर्ने भएको हुनाले संगठनको बारे चाँही केन्द्रीय कमिटिको बैठकपछि नै तयार हुन्छ । जिल्ला जिल्लामा पनि संगठन निर्माण गर्ने भेला बैठकहरु गर्ने, योजनाहरु बनाउने, बनेका जिल्ला कमिटिहरुलाई रुपान्तरण गर्ने कामहरु भैरहेका छन् ।
महिलालाई राजनीतिमा ल्याउनै समस्या, ल्याएपनि टीकाउनै समस्या छ, यहाँको पार्टीले महिलालाई नयाँ नेतृत्वको रुपमा उभ्याउन के कस्तो रणनीति बनाउँला ?
म आफैं पनि महिला भएको कारण महिलालाई ल्याउन हामी हिजो पनि लागिपरेकै हौं । हाम्रो लागि यो पुरानै एजेण्डा की महिलाले पनि राजनीतिमा समान उपस्थिती हुनुपर्छ । हामी जहाँ छौं, जुनसुकै नामको पार्टीमा भएपनि हामीले महिलालाई नेतृत्वमा ल्याउनको लागि पहल जारी राख्छौ । राख्दै आएका छौ । नृतृत्व तहमा कार्यकारी तहमा महिलालाई कसरी पु¥याउने र कसरी टिकाउने भन्ने हाम्रो पहल हिजो पनि थियो र आज पनि छ नै ।
अहिले पनि जिल्ला कमिटी गठन गर्दा नै ३ जना पदाधिकारीमा १ जना महिलालाई जिम्मेवारी दिएका छौ । यो हिसाबले हेर्दा हिजो हामी नेकपा एमालेमा हुँदा ५० प्रतिशत पदाधिकारी थियौ । अहिले त्यो पार्टीमा हेर्नुस् न लाजढाक्नै भएपनि १ जना महिला त पदाधिकारी राख्नु पर्छ नि त्यो पनि छैन । सबै पदाधिकारीहरुमा पुरुषहरु नै छन् । हामीले हाम्रो नयाँ पार्टीमा ३३ हैन, ५० प्रतिशत जिम्मेवारी दिने गरी तयारी गरेका छौ । त्यसको लागि जिम्मेवारी लिने साथीहरुले पनि एकदम उत्साह देखाउनु भएको छ ।
प्रदेशमा पनि १३ जनामा हामी ५ जना छौं । नेकपा एमालेले यतिका वर्षसम्म संसदीय दलमा एक जना महिलालाई अवसर दिएको थिएन । मन्त्री पनि बनाएको थिए । यतिबेला कागतालि परेर मुख्यमन्त्री बनाए अष्टलक्ष्मी शाक्य कमरेडलाई । आफूले मुख्यमन्त्री छोड्नै पर्ने भएपछि महिलालाई अवसर दिइएको थियो । नत्र नेकपा एमालेले कुनै पनि ठाउँमा महिलालाई अवसर दिएको हैन । हामीले नयाँ पार्टीमा ३ जना पदाधिकारी छान्नुपर्नेमा पनि एक जनामा मैले नै अवसर पाएको छु ।
हामीले सकभर हरेक क्षेत्रमा जिल्ला कमिटीहरुमा सचिवालायहरु बनाउँदा महिललाई प्राथमिकता मै राखेर योजनाहरु बनाइरहेको छौं । यसमा कुनै सम्झौता हुँदै हुँदैन ।
अब स्थानीय तहको निर्वाचन पनि नजिकीदै छ, यसको तयारी के छ ?
यो त अब नियमित प्रकृया हो पार्टीको संगठन निर्माण गरिसकेपछि जिम्मेवारीको आधारमा गठबन्धन मै जाने हो निर्वाचनमा पनि । त्यो हिसाबले पनि हामी स्थानीय तहको निर्वाचनको तयारी भन्दा पनि पार्टी निर्माणको तयारीमा छौं ।
पार्टीको आगामी रणनीतिक योजनाहरु के के छन् ?
त्यो त पार्टीको केन्द्रीय कमिटिले बनाउने कुरा हो । केन्द्रीय कमिटीको बैठक ५ गते बोलाइएको छ । त्यसले तय गर्छ । ति कुराहरु केन्द्रले नै तय गर्छ । कतिपय दस्तावेजहरु पारीत गर्नुपर्ने कुराहरु छन् । विधान पार्टीको झण्डा, चुनाव चिन्हलगायतको तयारी बन्ने क्रममै छ । पार्टीको घोषणा पत्र, सामुहिक निर्णयकै आधारमा अगाडि बढ्ने हो । अहिले तत्काल चाँही हामी संगठन निर्माणकै क्रममा छौ ।
एमाले भित्र दोस्रो धारमा रहेका नेताहरुलाई नवगठित पार्टीमा ल्याउन सकिने संभावनाहरु कत्तिको देख्नुहुन्छ ?
पार्टी विभाजन हुनुको मुख्य कारण केपी ओलीको अहमता हो । महाधिवेशनले पास गरेको निर्णय र नीति भित्र नरहने, प्रधानमन्त्री बन्ने हतारेको कारण पार्टी एकताको लागि न्युनतम आधारहरु तय नगरी एकीकरणमा जाने काम भयो । हाम्रो अन्तर विरोध के मा हो ? हाम्रो मार्ग दर्शन सिद्धान्त के हो केही पनि प्रष्ट नगरी ओलीले जनताको बहुदलिय जनवाद विशर्जन गर्नुभयो मओवादीले पनि आफूहरुले मान्दै आएको विचारलाई विशर्जन गर्नुभयो ।
यसरी गरिएको एकीकरण बनेपछि यसको मार्गदर्शन सिद्धान्त के हो भन्ने कुरा महाधिवेशनले तय गर्छ । महाधिवेशनमा छलफल हुन्छ, विचार विमर्श हुन्छ, बहस हुन्छ, दस्तवेजहरु बन्दछन् यि कुनै पनि कामहरु नगरीकन पार्टी एक भयो भनियो । यसबाटै यसको धरातल अत्येन्तै कमजोर थियो । उहाँले पार्टी बनाउन भन्दा आफ्नो पद बनाउनमा लागि पर्नुभयो । यहीबाट अन्तरविरोध सुरु भयो अन्ततः पार्टी फुट्यो ।
पार्टीभित्र नै अन्तरसंघर्ष गरेर पार्टी बचाउँन खोज्दा माधव नेपाल कमरेडलगायतलाई अपमानित गर्नेलगायतका काम भए । समान्तर कमिटीहरु बनाउनेलगायतको क्रियाकलापले तल्लो तल्लो तहसम्म पार्टीको विभाजन भयो । ओली पक्षिय नेताहरु पार्टी भित्रको आचरण नीति सिद्धान्तभन्दा बाहीर पुगेको कारण पार्टी फुटेको हो ।
दोस्रो तहको नेतालाई अध्यक्ष बनाउन कमरेड नेपाल पहिले नै तयार हुनुहुन्थ्यो । ओली कमरेडले नमान्नु भएको छ । १० बुँदे कार्यान्वय त हुँदै हुँदैन भनेर जाँदा आज यो अवस्था आएको छ । यो तेस्रो धार, मध्यममार्गी नेताहरुलाई ओली प्रवृत्तिले कहिल्यै पनि अगाडि बढ्न दिनुहुन्न, यो छर्लङ्ग छ । ओली प्रवृत्तिले ओली छउञ्जेल कुनै पनि हालतमा उहाँहरुलाई अगाडि बढ्न दिनुहुदैन, यो कुरा विस्तारै विस्तारै प्रमाणित हुँदैछ । अन्तिममा पार्टीको विचारको पक्षमा पार्टीको नीतिको पक्षमा लाग्ने साथीहरु यही नेकपा एकीकृत समाजवादीमा उभिनु पर्छ, हैन भने केपी ओलीको नेतृत्व रहुञ्जेल एमालेमा पार्टीको एकता पनि हुँदैन ।
यता समाजवादीमा पार्टी एकताको ढोका बन्द भएको छैन, मावध कमरेडले पनि भनिसक्नु भएको छ । हामी पार्टी एकताकै पक्षमा हौं, अझै पनि यो संभव छ । एकता कतिबेला संभाव छनै भने जबसम्म नेकपा एमालेमा केपी ओली प्रवृत्ति हाबि भैरहन्छ ।
फेरी महिला नेतृत्वको कुरा गरौं, महिलालाई हम्मेसी राजनीतिमा अवसर नै दिइन्न, बल्लबल्ल नेपालमा पहिलो मुख्यन्त्री महिला बन्नु भएको थियो, तपाईहरुले अब उहाँलाई पनि समर्थन नगर्ने ?
यो कुरामा चाँही उहाँ अब महिला मात्रै हैन । हिजोको दिनमा हामीले हाम्रो नेता भनेर उहाँको लागि धेरै लड्यौं । पार्टीभित्र विद्रोहको सुरुवात पनि उहाँकै न्यायको लागि भएको थियो । उहाँ सिनियर व्यक्तिमाथि गुटबन्दीको कारण अन्याय भयो भनेर हामी लडेका हौं । जुनियर मान्छेलाई ल्याएर मुख्यमन्त्री बनाएको निहुँमा हाम्रो संघर्ष थियो ।
हामी ३ वर्ष यसैको लागि लड्यौ । तर अहिले आएर यो अवस्था भयो । अब महिलाको मात्रै कुरा भएन । महिला (उहाँ) ले पनि त हिजो हामीलाई जसरी हिडाउनु भएको थियो त्यसैगरी हिडिरहनु भएको भए आज मुख्यमन्त्रीको विकल्प हामीले खोज्नु पर्ने आवश्यकता थिएन । सबैले मानेको नेता हाम्रो अभिभावक उहाँ । तर उहाँ नै अभिड हुन सक्नु भएन । उहाँबाट हामीलाई नराम्रोसँग धोका दिनु भयो । उहाँ आफैंले बाटो बन्द गर्नु भएको हो ।
हामी त जुनियर हौं, उहाँले देखाएको बाटोमा हिडेका, हाम्रो आदर्श व्यक्ती तर उहाँले नै हामीलाई धोका दिनु भएको हो । अस्ति पार्टीभित्र विरोध हुँदा हुँदा पनि मुख्यमन्त्री बनाउने कुरामा माधव कमरेडलगायत हामीले साथ दिएका हौं । तर जब पार्टी विभाजन भए पनि उहाँले नै धोका दिनु भयो । जसरी १३ जना सांसदहरुले समाजवादी रोज्नुभयो उहाँले पनि रोज्नु पथ्र्यो, रोज्नु भएन । त्यसकारण अब हामी बाध्य भएर उहाँलाई साथ दिन सक्दैनौ ।
हिजोका दिनमा मओवादी समेतको एकीकृत रहँदा हामीले बहुमत पु¥याएर उहाँलाई मुख्यमन्त्री बनाउन अविश्वासको प्रस्ताव हालेका थियौ । सबै साथीहरुले उहाँलाई जुन साथ दिएको थियौ, उहाँले बुझ्नु भएन ।
३ दशकभन्दा बढी समय लगानी गरेको पार्टी छाड्नु भयो है ?
पार्टीको नाम जे जे भएपनि कम्युनिष्ट विचार धारा उही, पार्टीको नाम त कहिले माले थियो, कहिले एमाले, कहिले नेकपा,कहिले समाजवादी जे जे भएपनि कम्युष्टि आन्दोलनमै छु । नाम र चुनाव चिन्ह जे भएपनि फरक पर्दन । जीवन संघर्ष हो, जारी छ संघर्ष । राजनीति कहिल्यै सिधा बाटोमा हिड्दैन । कहिले भिडभाड देखिन्छ, कहिले थोरै देखिन्छ हामी विचारमा दृढ छौं । लक्ष्यप्रति प्रतिवद्ध छौ । नाम चुनाव चिन्ह जस्ता कुराहरु गौण हुन् । कुनै बेला माछामा भोट हालियो,कुनै बेला हसियाँ हथौडामा भोट हालियो, अब चुनावमा के हुन्छ, यि सबै कुरा गौण हुन् । मुख्यकुरा विचार हो हामी विचारमा निरन्तर संघर्ष गरिरहेका छौ ।