मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा धर्मेन्द्र दाहाल चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।
अधिवेशनबाट समुहकाे उपाध्यक्ष विजय पौडेल, सचिव बलराम पुडासैनी, कोषाध्यक्ष सरला अधिकारी र सहसचिव उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै समूहको सदस्यहरु मिना श्रेष्ठ, बिक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौँलागाई, सुशन लामिछाने र राजन कटुवाललाई चयन भएका छन् ।

सोही अवसरमा अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ । समूहले यस बर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको छ।
स्वर्गीय केबीको बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रममा समूहका बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।