मकवानपुर । लाेक सेवा आयाेगले शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेकाे छ । लाेक सेवा आयोग केन्द्रीय कार्यलय अनामनगरले भदाै २८ गते सूचना प्रकाशित गर्दै आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको अन्तिम याेग्यतक्रम सम्बन्धी नतिजा प्रकाशन स्थगित गरेको जनाएकाे छ ।
सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेको हो । यसअघि प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतहरुलाई उनीहरुले रोजेको संघमा समायोजन गर्न सर्वोच्चले आदेश दिएसँगै लोकसेवा आयोगको संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण समूहका परीक्षाका सम्पूर्ण चरण पार गरी अन्तिम नतिजाको पर्खाइमा रहेका परीक्षार्थी समस्यामा परेका छन् ।
‘आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको व्यहोरा आयोगको मिति २०७८÷०५÷२८ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगको सूचनामा भनिएको छ ।
लोक सेवा आयोगले मिति २०७६ मंसिरमा शाखा अधिकृतमा बढुवा तथा खुला समेत गरी सामान्य प्रशासन समूहका ५ सय ६० रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनमध्ये ३० प्रतिशत बढुवातर्फ छुट्याएको १ सय ६८ पद सोही वर्ष नै पदपूर्ति भइसकेको छ । बाँकी खुला तथा समावेशीतर्फ छुट्याएको ३ सय ९२ पदको परीक्षा भने काेराेना भाइरस (कोभिड-१९) का कारण गत भदौ ५ गतेमात्र सबै चरण सम्पन्न भएको आयाेगले जनाएकाे छ ।
