मकवानपुर । बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे नेकपा (एकिकृत समाजवादी) प्रदेश संसदीय दलको नेता चयन भएका छन् । नेकपा विभाजन पछी गठन भएकाे नेकपा (एस) पार्टीको ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।
निर्वाचन आयोग काठमाडाैबाट पठाइएकाे नेकपा (एस) मा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै ससदीय दलकाे नेता चयन गरिएकाे हाे ।
बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ । नेकपा (एस) ले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ ।
नेकपा (एस) आधिकारीक रुपमा प्रदेशसभा दर्ता भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशिल साझा, नेपाल मजदुर किसान पार्टी २०७४ सालकाे निर्वाचनबाट प्रतिनिधित्व गर्ने दल हुन् । एक स्वतन्त्र सांसद् रहेका छन् । उनी जसपा निकट रहेका छन् । बागमती प्रदेशमा नेकपा (एस) १३ सांसदसहित चौथो दल भएको छ ।