मकवानपुर । प्रतिनिधिसभामा १४ वटा अध्यादेश पेश गरिने भएकाे छ । प्रतिनिधिसभाको शुक्रवार बस्ने बैठकको सङ्घीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा १४ वटा अध्यादेश पेस गरिने उल्लेख छ । शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूचीमा उल्लेख छ।
भदाै २३ गते बुधवारकाे प्रतिनिधिसभाकाे बैठकको प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बिच स्थगित भएको थियाे । तेस्रो पटक बसेकाे बैठकमा अवरोधका बिच पनि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश पेस गरेर भदाै २५ गतेसम्मकाे लागि स्थगित भएको थियो।
एमालेले भाेली भदाै २५ गतेकाे ससद अवरोध नगरेमा अपराह्न १ बजे तोकिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी अध्यादेश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसै गरी गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्नेछन् । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश, २०७८ पेस गर्ने कार्य तालिका छ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले औषधि (तेस्रो संशोधन) अध्यादेश, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी(पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको संसद् सचिवालयले जनाएकाे छ ।
सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पारित गर्ने पनि तय गरिएको छ। एमालेबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य महेन्द्र शेरचन र माओवादीबाट संविधानसभामा निर्वाचित जुठबहादर खड्गी (जेबी टुहुरे) को निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्य तालिका छ।
त्यसै गरी विभिन्न सांसदले अध्यादेशविरुद्ध प्रस्ताव पेस गर्ने कार्य तालिका पनि रहेको छ, जसमा प्रेम सुवालले १३ वटा अध्यादेशविरुद्ध र दुर्गा पौडेलले नागरिकता अध्यादेश अस्वीकार गर्न सूचना प्रस्तुत गर्ने कार्य तालिका रहेको छ।