मकवानपुर । हेटाैडामा भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजकाे भूमिका सम्बन्धी संवाद कार्यक्रम भएकाे छ । भ्रष्टाचार, बेरुजु नियन्त्रण र न्यूनिकरणमा नागरिक तथा नागरिक समाजको भुमिका विषयक संवाद कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको हाे ।
अमेरिकी विकास नियोग यूएसएडको आर्थिक सहयोगमा डेक नेपाल र नागरिक समाज मञ्च मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा लेखापरीक्षण, लेखापरीक्षणका उद्देश्य, अन्तिम लेखापरीक्षणको भूमिका, भ्रष्टाचार, बेरुजु, बेरुजु फछ्र्यौट, भ्रष्टाचार निवारणमा नागरिक समाजको भूमिका लगायतको विषयमा प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौंडाका प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले सहजिकरण गरेकाे कार्यक्रममा नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिव बोलबहादुर कार्की, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।