मकवानपुर /माइती नेपाल मकवानपुरमा सिलाई सीप सिकेका किशोरीहरूले आफूहरूलाई व्यवसायिक तथा आत्मनिर्भर हुनको लागि सहारा हुने अपेक्षा राखेका छन् ।
सिलाई प्रशिक्षणपछि जीवनपयोगी सीप समेत सिकेर फर्केका किशोरीहरूले यस्तो बताएका हुन् । प्रशिक्षणपछि फिल्ड अनुगमनमा गएका किशोरीहरूले अग्रजको व्यवसायिकता देखेर आफूहरूले पनि त्यसैगरी व्यवसाय सन्चालन गर्ने हिम्मत जागेको फिल्ड अनुगमनमा सहभागी कैलाश गाउँपालिका-५ कि नेहा थिङले बताइन् । माइती नेपालबाट सीप सिकेर व्यवसायिक जीवन बिताईरहेकी मकवानपुर बकैया गाउँपालिका – ७ खटखटाई निवासी प्रतिमा राईलाई भेटेपछि आफूले पनि यस्तै भबिष्यको कल्पना गरेको उनले बताइन् ।
बकैयाकी राई अहिले गाउँपालिका स्तरमा व्यवसायिक प्रशिक्षकको रूपमा व्यस्त छिन् । सिलाई व्यवसायबाटै २ सन्तानलाई पढाएर, घर खर्च पुर्याएर मासिक २५ हजार बचत गर्ने गरेको राईले बताइन् । “उहाँको लगाब र मेहनतबाट प्रेरित छु, अब म पनि सिकेको सिपलाई व्यवसायीक बनाउछु” फिल्ड भिजिटपछि बकैया गाउँपालिका-६ कि ललिता भुलुनले भनिन् ।

फिल्ड भिजिटमा जांदा आफूहरूलाई काम गरेर आत्मनिर्भर बन्ने हौसला मिलेको उनले बताइन् । पढाइ छुटे पनि सिपलाई व्यवहारमा ल्याउन सकेमा जीवनमा परनिर्भर रहन नपर्ने उनले बताइन् । फिल्ड भिजिटमा माइती नेपाल मकवानपुर प्रमुख माया लामा, फिल्ड सुपरभाईजर मन लामालगायत २० जना किशोरीहरू सहभागी थिए । तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेर किशोरीहरू आत्म निर्भर हुंदा बैदेशिक रोजगारको चाह कम हुने र बेचबिखनमा पर्ने जोखिम पनि घट्ने प्रमुख लामाले बताइन् ।

फिल्ड भिजिट टोलीले ग्रामीण क्षेत्रका १ सय ५० घरमा घरभेट कार्यक्रम गरि सचेतना पर्चा पब्लेट पनि वितरण गरेका थिए । टोलीले माइती नेपालले प्रदान गर्दै आएको सेवाहरू बारे सचेतना पम्लेट वितरण गरेको फिल्ड सुपरभाइजर मन लामाले बताइन् ।
