मकवानपुर । आज भाद्रकृष्ण अष्टमी । हिन्दुहरूका भगवान श्रीकृष्णकाे जन्मदिन । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्ण जन्माष्टमी’ काे दिन महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
पौराणिक ग्रन्थमा उल्लेखित कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ । महाभारत ग्रन्थ अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त विचारहरूकाे संग्रह ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको एक पवित्र ग्रन्थ मानिन्छ ।
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा सार्वजनिक विदा समेत दिएकाे छ ।