मकवानपुर । ह्वीप उल्लंघनको आरोपमा नेकपा एमालेले निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय संसद सचिवालयले गरेको हो ।
नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो । तर संसद सचिवालयले कारबाही गर्न ढिलाइ गर्दै आएको थियो ।
दल बिभाजन पछी संसदीय अंकगणितमा फेरबदल
यसैबीच संसदमा प्रतिनिधित्व गर्ने दल विभाजन पश्चात संसदीय अंकगणित फेरबदल भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाल विभाजन भइ अर्काे दल निर्रवाचन अायाेगमा दर्ता गरेसँगै संसदीय गणितमा फेरबदल भएको हाे ।
नेकपा (एमाले) बाट टुक्रिएर बनेकाे नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर बनेकाे लोकतान्त्रिक समाजवादी पार्टीले गर्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको गणित पनि फेरबदल भएको हो ।
पार्टी विभाजन पछी प्रतिनिधिसभामा नेकपा (एमाले) को सांसद संख्या ९८ जना र राष्ट्रिय सभामा २६ जना रहेको छ । त्यस्तै नेपाली कांग्रेसको प्रतिनिधि सभामा ६३ जना र राष्ट्रिय सभामा ७ जना, माओवादी केन्द्रको प्रतिनिधि सभामा ४९ जना र राष्ट्रिय सभामा १५ जना सांसद रहेका छन् ।
यसै गरी नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधि सभामा २३ जना र राष्ट्रिय सभामा ७ जना, जनता समाजवादी पार्टीको प्रतिनिधि सभामा २१ जना र राष्ट्रिय सभामा २ जना र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधि सभामा १३ जना र राष्ट्रिय सभामा १ जना सांसद रहेका छन् ।
राष्ट्रिय मान्यता पाएका यी दलसँगै प्रतिनिधि सभामा स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना, राष्ट्रिय जनमोर्चाको १ जना, नेपाल मजदुर किसान पार्टीको १ जना र स्वतन्त्र सांसद १ जना रहेका छन् । त्यस्तै राष्ट्रिय सभामा पनि १ जना स्वतन्त्र सांसद रहेका छन् ।