- भीम सुवेदी
१.
उनकै कथा केरिन सकिन्छ माया भयो भने
अङालो भित्रै बेरिन सकिन्छ माया भयो भने
हरेक धड्कनका आवाज हरु सुने पछि मात्र पो,
लुकाइएका पीडा हेरिन सकिन्छ माया भयो भने।
२.
आफ्नै मुटु पनि कहिले दुस्मन हुंदो रैछ
अचानक दर्द पीडा झन झन हुंदो रैछ
जे जस्तो हुन्छ परिस्थिती सहनै पर्ने सबै,
थाहै नदि मानव मन बिचलन हुंदो रैछ।
३.
जनादेश कि परमादेश स्वीकार्य हुनुपर्छ
जनताको पीडा संगै अनिबार्य हुनुपर्छ
जुन सुकै सेटिङमा काम गर्ने छुट छैन है,
केही न केहि परिवर्तन अपरिहार्य हुनुपर्छ।
४.
गाउँ समाज अनि देशको धेरै चिन्ता लाग्छ
बदलिइ रहेको परिवेशको धेरै चिन्ता लाग्छ
जनयुद्ध नामको आतंकले धुजा धुजा बनाइएका,
ती निर्दोष भग्नावषेशको धेरै चिन्ता लाग्छ।
५.
बनाउनु भन्दा बिगार्नु लाई सहि भन्छन राजनीतिमा,
तहस नहस पार्नु लाई सहि भन्छन राजनीतिमा
अझै के के देख्नु पर्छ अति धेरै नाटक हुन्छ
आफ्नै साथी मार्नु लाई सहि भन्छन राजनीतिमा।
झापा