मकवानपुर । माधब नेपाल पक्षकाे नेकपा एकीकृत समाजवादी पार्टी र महन्त ठाकुर पक्षकाे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राजनीतिक दलको मान्यता पाएको छ ।
निर्वाचन आयोगको बैठकले दुवै दलले कानुनअनुसार दल दर्ताका लागि प्रक्रिया पु¥याएपछि दर्ता गर्ने निर्णय गरेकाे थियाे । आयोगले बुधबार नै दुबैलाइर नयाँ दल दर्ताको आधिकारिक प्रमाणपत्र दिएको हो ।
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गर्न आयोगमा निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्था थियो ।
‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३, (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट निर्णय गरी प्रमाणपत्र दिइएको,’ आयोगको तर्फबाट प्रदान गरिएको पत्रमा भनिएको छ ।
आयोगले तोकेको विहान ११ बजेदेखि २ बजेसम्मको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि दुवै दलका हस्ताक्षरकर्ताहरूले सनाखत गरेका थिए ।नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । सो संख्या २७ प्रतिशत हो ।
एमालेको १ सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र नेपाल अध्यक्ष रहने दलमा सनाखत गरेका हुन् । सो संख्या एमालेको संसदीय दलको कुल संख्याको १९ दशमलव ४८ प्रतिशत हो । आयोगमा सनाखतका लागि पुगेका ३ जना सांसदले भने सनाखत गर्न नपाउँदा सो संख्या नपुगेको हो ।
यसैगरी, नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १६ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य संख्याको ३३ प्रतिशत हो । यस्तै, संघीय संसद्का १४ जना सांसदले लोसपाका पक्षमा सनाखत गरेको आयोगले जनाएको छ ।
झलनाथको दिल्लीबाटै सनाखत
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको सनाखत भने दिल्लीस्थित नेपाली दूतावासमार्फत गराएको छ । आयोगले दिल्लीस्थित राजदूतावासमार्फत खनालको सनाखत गराइएको जनाएकाे छ । नेता खनाल हाल स्वास्थ्य उपचारका लागि भारतको दिल्लीमा छन् ।
रेशम चौधरी गएनन्
लोसपाको हस्ताक्षर सनाखतमा रेशमलाल चौधरीको भने सनाखत भएको छैन । उनको नाम र हस्ताक्षर प्रस्तावित दलका पक्षमा नभएकाले उनी आयोगमा सनाखतका लागि नगएका हुन् ।
ठाकुर समूहले पहिले प्रस्ताव गरेको दलको नाममा भने चौधरीको हस्ताक्षर थियो । तर पछि दलको नाम फेरेर बुझाउँदा भने चौधरीको नाम र हस्ताक्षर दुवै नरहेको पाइएको आयोगले जनाएको छ ।
