- दिब्या शृङ्खला राई
१.
अचेल उसलाई त्यति सम्झन छोडे
पहिला जस्तो पलपल तड्पन छोडे
त्यसै त्यसै रिसाएर टाढा हुनेलाई
साँघु तर्ने पुल बिच पर्खन छोडे।
२.
परदेशमा नै केश फुल्यो जवानी बेकार भो
फर्कन्छु घर भन्दा भन्दै जिन्दगानी बेकार भो
मेरै बाटो हेर्दा हेर्दै अस्ताइन रे मेरि आमा
कस्लाई सुनाउ मनभित्रको कहानी बेकार भो।
३.
हृदयदेखी माया गर्छु भन्नेहरु भेटिन्छन यहाँ
तिमीलाई नपाए मर्छु भन्नेहरु भेटिन्छन यहाँ।
भित्र खोक्रो बाहिर चट्टपरि’ जिन्दगीमा सधैं
उल्लासको रङ्ग भर्छु भन्नेहरु भेटिन्छन यहाँ।
४.
दर्दनाक पींडाले यतिखेर सारा विश्व दुखेको छ
हेर्दा हेर्दै कयौंको अमूल्य ज्यान गुमेको छ
जति सक्दो प्रयास गर्दा पनि केही सीप नलाग्दा
थकित डाक्टर बैद्यहरुकै शिर झुकेको छ ।
५.
अलिकती नजिक सरि आफ्नै ठानी हेरेकी हु
लजाएकी हुँदै होइन आँखा तानी हेरेकी हु
लाग्ला सायद तिमीलाई चालबाल अनौठो
के लुकाउनु मायाले नै जानीजानी हेरेकी हु।
बेलका नगरपालिका, उदयपुर