मकवानपुर । नेवार समुदायकाे मुख्य पर्व गाईजात्रा हेटाैडामा पनि मनाइएकाे छ । नेपालमा प्रताप मल्लको पालादेखि चलनमा आएको मान्यता रहेकाे गाईजात्रा पर्व हेटौंडाका नेवार समूदायले मनाएका हुन । भदाै ७ गते सोमबार हेटौंडामा पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक हुदैं कान्तिराजपथ, बुद्धचोक, सिमाचोक हुदैं टिसिएन सानो भुटनदेवी मन्दिरमा पुगेर गाईजात्रा समापन गरिएको छ ।
यो जात्रा काठमाडौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन गाई जात्राको चलन बसालेको विश्वास छ ।
नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै घरबाट विभिन्न भेषभुषा धारण गरी मनाइने गरिन्छ । सोही अनुरुप हेटौंडामा सामूहिक रुपमा गाइजात्रा मनाइएको नेवाः गुठी खलका अध्यक्ष अनिल खड्गेले बताए । मानिस मर्नु पर्छ मरे आफ्नो धर्म संस्कृति अनुरुप तामाङले घेवा गरेजस्तै हामीले गाइजात्रा मनाउने गरेको बताउदैं सरकारले दिएको स्वास्थ्य मापदण्ड अनुरुप पर्व मनाइएको नेवाः साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन पनि गराउने चलन छ ।
हेटाैडा लगायत नेवार समुदायकाे बाहुल्यता रहेकाे काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, पोखरा, तानसेनलगायत देशैभरका नेवार समुदायले यो पर्व मनाउने गरेका छन् ।
गाईजात्राकाे अवसरमा काठमाडाैं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएकाेमा संघीय सरकारले देशभरका नेवार समुदायलाई विदा दिएकाे छ भने बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा सार्वजानिक विदा समेत दिएको छ ।
ब्लु डायमण्ड सोसाईटीको ‘गाईजात्रा’ कार्यक्रम
ब्लु डायमण्ड सोसाईटीले सोमबार हेटौँडामा गाईजात्रा कार्यक्रम गरेकाे छ । सोसाईटीले ‘राईट हियर राईट नाउ’को सहयोगमा हेटौँडा ११ सहिद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो ।
संस्थाले बिगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो । यसवर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्ला–जिल्लामा कार्यक्रमको आयोजना गरिएको जनाएकाे छ।
कार्यक्रममा लैंगिक तथा अल्पसंख्यक समुदायका २५ जना सहभागीहरुले स्वास्थ्य मापदण्ड पालना गरी प्ले कार्ड सहित गाईजात्रा कार्यक्रम गरेका थिए ।