- इन्दिरा गौतम
अझै झोला भरिएको छैन’ ? छैन मालिक….. ..| उसले गम्भीर मुद्रामा भन्यो । दिनभरि ………के रमिता हेरेर बसिस् ? अझ बढी अलाप-बिलाप गर्नु पर्दैन ? ऊ मौन रहन्छ| एक घण्टा पछि म आउँदैछु | आजको रातको बन्दबस्त राम्ररी मिला नि………..।
यता उता आँखा डुलाएर आफ्नो भूमिका खेल्न थाल्यो। यो असहाय गरीब मान्छेलाई सहयोग गर्नुहोस् । तपाईँको पुण्य हुन्छ | तीन दिन भयो पेटमा एक मुठी अन्न परेको छैन। भगवानको नाममा सहयोग दिनुहोस् | भगवानले हजुरको कल्याण गर्नेछन् …………….|
आउने-जानेले चानचुने, नोट, बिस्कुटका पेकेट, फलफूल ………..आदि आफूसँग जे छ, दिँदै गए |हेर कति बिजोक रहेछ, यो जाडोमा लुगा पनि छैन भन्दै एक जना भलाद्मीले सय रूपियाँ पैसा र आफ्नो ज्याकेट पनि खोलेर दिए। एक घण्टा पछि उसको बोस आउँछ र दुई छाक जति रासन-पानीको पैसा दिँदै आदेश गर्छ ‘भरे राति राम्रोसँग अभिनयको अभ्यास गरेर भोलिदेखि चौगुना कमाउने नि बुझिस्।’
उसलाई भित्रभित्रै उकुसमुकुस पीडा हुन्छ। लुगा हुँदा हुँदै पनि माघे जाडोमा करङ देखाएर बस्नु पर्ने। पापी पेटको कुरा छ। नभए भुँडीले भोक हड्ताल गर्न थालिहाल्छ। ज्याकेट त क्या दामी रैछ है। यो जाडोमा म पो लगाउनु पर्यो। तँलाई सुहाउँदैन, भन्दै बोस घर तर्फ लाग्छ। भोलिपल्ट सबेरै त्यही ठाउँमा आएर माग्नेले आफ्नो पसल थाप्छ जोस जाँगरका साथ।
हिजो ज्याकेट दिने भद्र भलाद्मी ब्यक्ति आएर भन्छन् ‘हेर, हिजो साँझमा तिमी जाडोले कामेको देख्दा दुख लागेर ज्याकेट दिएँ तर मेरा जरुरी कागजात त्यसको गोजीमा छोडिएछन्। जसरी भए पनि ती कागजात मलाई चाहियो ,ज्याकेट भने तिमी नै लगाउ। हिँड! बरू, म तिमीलाई घरसम्म पुर्याउँछु |’ माग्नेले मनमनै सोच्यो ठुलो माछो पर्ने भो अब………., बल्छिले झैं कस्सेर राख्नुपर्छ। ठुलो रकमको आश गर्यो, सपना देख्यो। एक्लै निर्णय गरौं कि क्या हो ?
हजुर बाटो लागे पछि एउटा दरिद्र, म भन्दा पनि बढी दुःख पाएको, भोको यहाँ आयो र मैले त उसलाई पो दिएँ। कुरा छल्न खोज्यो |ती भलाद्मी सोचमा परे | यो कस्तो अचम्मको व्यक्ति रहेछ ! म भन्दा नि दयालु र महादानी पो रहेछ। म कतै भ्रममा त परिन? होइन……, मलाई ज्याकेट चाहिँदैन, अावश्यक कागजात दिँदा भै हाल्छ | बरु अलिकति खर्च दिउँला हुन्न र? सोचमा पर्यो, एकछिन यतै बस्तै गर्नुहोस् | अब एकछिनमा ऊ आइपुग्छ अनि म कुरा गरौंला। भन्दा भन्दै उसको बोस पनि आयो र बोसलाई सबै कुरा सुनायो।
तर बोससँग ज्याकेटको दरभाउ मिल्दै मिलेन। भलाद्मीले धेरै विन्ति बिसाए र पनि पटक्कै मिलेन | उल्टै ज्यानमालको धम्कि दिन थाल्यो |ती भलाद्मीले सोचकोे भन्दा ठुलो ग्यांग पो रहेछ। चारैतिर आँखा डुलाएर इसारा गरे। क्षणमै ती भलाद्मी एसपी गौतमका चतुराइले सहरका धेरै चोर, गुण्डा, बदमासहरूको ग्यांग पक्राउ परे |
ओदालगुडी, असम