- गीताश्री शर्मा
१.
मौका पर्खिनेहरू यहाँ पर्खिरहन्छन्
तर्किन खोज्नेहरू पर-परै तर्किरहन्छन्,
बिरानाहरू आफ्ना बनेर आउँदा पनि
आफ्नैले भने घाउमा नुन छर्किरहन्छन्।
२.
साथ मात्रै पाएंछु मैले, मनको हात समाउन सकिनँ
हजारौं पाइला सँगै हिँडेँ, दुइ पाइला जमाउन सकिनँ,
मेरो स्वच्छ समर्पण थियो, तिम्रो निम्ति व्यापार बनेछ
सातौं जुनी कसरी काटौं ? यो जुनीमा नै रमाउन सकिनँ।
३.
कसरी जिउनु पर्छ~ समुद्रले बहेर सिकाउँदै छ
संयमता नै ठूलो हो~ भनी सहेर सिकाउँदै छ,
बिलौना गर्दै हिँड्दा समस्याको हल हुँदैन भनेर
गन्तव्य भुल्नु हुन्न ! मौनतामै कहेर सिकाउँदै छ।
४.
नाच्ने पनि देखियो यहाँ! नचाउनेहरू देखियो
भट्टी पसल भित्रै कम्मर भचाउनेहरू पनि देखियो,
रक्सी पिएर अरूको घर बिथोल्नेहरूको माझमा
सफा कुरा गरेर कसैको घर बचाउने पनि देखियो।
५.
सजिलो हिड्नलाई बाटो खनाउँदै जानुपर्छ
परिस्थितिलाई आफैं सहज बनाउँदै जानुपर्छ,
सुख र दुःख नै जीवनका चक्र रहेछन् यहाँ
बाँचेका पलहरू उत्सव सरी मनाउँदै जानुपर्छ।
सिक्किम