मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज मंगलबार बस्ने भएको छ । बजेट पारित गरेपछि गत असार २८ गते अनिश्चितकालीन समयको लागि स्थगित भएको प्रदेशसभा बैठक करिब १ महिनापछि आज बस्न लागेको हो ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको छ ।
प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका थिए । चालू वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो ।
बागमती प्रदेशमा प्रदेशसभा नियमावली संशोधन गर्न समिति बन्ने भएको छ । मंगलबार बस्ने प्रदेशसभा बैठकमा समिति गठनको प्रस्ताव हुने भएको हो । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधनका लागि मस्यौदा समिति गठनको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा सभामुखले प्रदेशप्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।